नेपाल–भारत सीमास्तम्भ अध्ययन सर्पेक्षण शुरु

  माघ ११, २०७६

भीमदत्तनगर, १० माघ : नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरेको छ ।

नेपाल–भारत संयुक्त सीमा सर्भे टोली नं ४ ले सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन गर्न कैलाली र कञ्चनपुरमा दुई छुट्टाछुट्टै टोली परिचालन गरिएको संयुक्त टोलीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले बताउनुभयो । सो टोलीले भारतसँग सीमा जोडिएको कैलालीको पूर्वी खक्रौला सीमा नाकादेखि कञ्चनपुरका पुरानो सीमा बजार ब्रह्मदेव नाकासम्मका सीमा स्तम्भको अवस्था अध्ययन गर्न लागेको हो ।

एक साताअघि भारतीय बजार टनकपुर पावर हाउसमा बसेको संयुक्त सर्भे टोलीले सर्भेको काम थाल्ने निर्णय गरेको थियो । “सोही निर्णयअनुसार फिल्डमा सीमा स्तम्भको अवस्था बुझ्ने र विवादित क्षेत्रमा जनताको भावना बुझ्ने लगायतको काम थालिएको छ”, सर्भे प्रमुख भण्डारीले भन्नुभयो, “काम शुभए पनि गति लिएको छैन ।”

पहिलो चरणमा टोलीले स्थलगत अनुगमन गर्ने जानकारी दिँदै उहाँले लगत सङ्कलनपछि सीमा स्तम्भ मर्मतदेखि अन्य काम हुने बताउनुभयो । कैलाली जिल्लाको सुरुआतको ७०० नम्बरको सीमा स्तम्भदेखि ब्रह्मदेव नजिकको सीमामा रहेको ८ सय ११ नम्बरसम्मका सीमा स्तम्भको अवस्था, भत्केका बिग्रेका फेला पारेको पाइएमा तिनको पुनःनिर्माणको पहल गर्ने अधिकार सर्भे टोलीलाई दिइएको छ ।

सर्भे टोलीलाई फिल्डमा काम गर्दा असहज परिस्थिति सिर्जना भएको अवस्थामा दुवै देशका सुरक्षा अधिकारीहरूले स्थलगत अनुगमन गरी समस्याको हल गर्ने सर्भे टोलीको बैठकबाट निर्णयसमेत भएको छ । “सीमा स्तम्भ व्यवस्थापनका लागि पाँच महिनाको समय दिइएको छ”, उहाँले भन्नुभयो, “व्यवस्थापनका क्रममा हराइरहेका सीमा स्तम्भ क्षेत्रमा स्थानीयवासीमा विवाद देखिए उक्त विषय सुल्झाउन कठिन हुन सक्छ ।”

कञ्चनपुरको खल्लामसेट्टीदेखि डोकेबजारसम्म ३९० सीमा स्तम्भमध्ये १०० सीमा स्तम्भ मात्रै व्यवस्थित छन् । “धेरै सीमा स्तम्भ जिर्णोद्धारको अभावमा महाकालीको बगरमा समेत ढलेको अवस्थामा छ”, कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका स्थानीयवासी केशव नाथले भन्नुभयो, “सीमा स्तम्भ नै नभएको अवस्थामा यहाँ भारतीय पक्षसित लामो समयदेखि विवाद यथावत् छ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० सीमा स्तम्भ महाकालीको पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बिओपीले जनाएको छ भने ८१३ नंको मुख्य सीमा स्तम्भ महाकालीको बगरमा ढलेर अलपत्र छ ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–९ प्यारातालपारि रहेको मुख्य सीमा स्तम्भ नं १९५ जङ्गलमा ढलेको अवस्थमा रहेको बताइएको छ ।

गत भदौमा भारतको देहरादुनमा बसेको दुवै देशका नापी अधिकारीको बैठकले गरेको निर्णयबमोजिम संयुक्त नापी टोलीले सर्भेसम्बन्धी काम थालेको हो । कैलाली जिल्लाको तुलनामा कञ्चनपुरका दक्षिणी सीमा क्षेत्रमा सीमा सम्बन्धी विवाद बढी छ ।

तपाईको प्रतिक्रिया