होङवान्जी न्यू डायमण्ड कप भलिबलको उपाधि एपिएफलाई

  पुष २७, २०७६

काठमाडौं, २७ पुस : होङवान्जी न्यू डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । एपिएफले आयोजक न्यु डायमण्ड क्लबलाई ३–० सेटले पराजित गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा आज भएको फाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–२०, २५–२३ र २५–१८ अङ्कले हराएको हो । जीतसँगै एपिएफले रु चार लाख १०१ पुरस्कार प्राप्त गरेको छ । एपिएफ अघिल्लो संस्करणको पनि विजेता हो । यस्तै उपविजेता न्यू डायमण्डले रु तीन लाख १०१ पुरस्कार प्राप्त गरेको छ । न्यू डायमण्ड अघिल्लो संकरणको उपविजेता हो ।

यसैगरी नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमा हराउँदै तेस्रो भयो । पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ अङ्कले हराएको हो । तेस्रो भएको पुलिसले रु एक लाख ५१ हजार १०१ तथा चौथो भएको आर्मीले रु ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । एपिएफकी सरस्वती चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले रु २१ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताका उत्कृष्ट सर्भर पनि सरस्वती नै घोषित हुनुभयो ।

यस्तै आयोजक न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, एपिएफकी हीरा केसी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, न्यू डायमण्डकै सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स, पुलिसकी कोपिला राना उत्कृष्ट क्विकर तथा एपिपएफका महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँहरुले जनही रु सात हजार १०१ पुरस्कार प्राप्त गर्नुभयो ।

विजेता टोली, खेलाडी र प्रशिक्षकलाई सांसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राईलगायतले पुरस्कार वितरण गर्नुभयो । (रासस)

तपाईको प्रतिक्रिया