डिभिजन लिग फुटबलमा एपिएफको पहिलो जित

  पुष १७, २०७६

काठमाडौं, १७ मङ्सिर (रासस) : विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको चौथो चरणको अन्तिम खेलमा एपिएफले सरस्वती युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो ।

जितसँगै एपिएफ ११औँ स्थानमा उक्लेको छ भने पराजित सरस्वती अङ्कविहीन रहँदै अङ्कतालिकाको अन्तिम स्थानमा छ । यस खेलसँगै चार खेल खेलेको एपिएफले भने एक जित, एक बराबर र दुई हारसँगै चार अङ्क जोडेको छ ।

एपिएफको जितमा आशिष लामा नायक बने । उनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आशिषले गोल गरेलगत्तै सरस्वतीका विनोद केसीले एक गोल फर्काएका थिए ।

तपाईको प्रतिक्रिया