महाशिवरात्रिमा पशुपति दर्शन गर्नेको भीड (फोटो फिचर)

  फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : आज (शनिबार) महाशिवरात्रि पर्व देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भई बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड छ ।

आज बिहानैबाट भक्तजनहरू पशुपतिनाथको पूजा गर्नका लागि लामबद्ध भएर बसेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेवलगायतका शिवालयमा भक्तजनको भीड रहेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुग्नुभएका भक्तजनहरूलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स्वयंसेवक बाहेकलाई कडाइ गरिएका कारण दर्शनार्थीहरुको लाइन सहज रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले अहिलेसम्म करिब डेढ लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको जानकारी दिनुभयो ।

त्यस्तै, अर्की एक दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्न सहज भएको बताउनुभयो । त्यस्तै अर्का एक भक्तजनले भने अघिल्ला वर्षको तुलनामा यस वर्ष धेरै नै व्यवस्थापन गरेकाले दर्शन गर्न सहज भएको जनाउनुभयो ।

महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवम् दर्शनका लागि जम्मा भएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया