जडीबुटी प्रशोधन केन्द्र अलपत्र

  मंसिर २१, २०७९

सुर्खेत, मङ्सिर २१ : सुर्खेतमा निर्माण गरिएको जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अलपत्र परेको छ । काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको जडीबुटी प्रशोधन केन्द्र अलपत्र परेको हो ।

केन्द्रको भौतिक संरचना तयार भएको छ महिना पुगिसक्दा पनि उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन । सुर्खेत उद्योग वाणिज्य सङ्घले जडीबुटी सङ्कलन, प्रशोधन तथा व्यवसाय केन्द्र सञ्चालनका लागि पूर्वाधार तयार गरेको हो ।

पूर्वाधार निर्माणका लागि निजी तथा साझेदारी मोडलमा करिब रु चार करोड खर्च भएको छ । विसं २०६८ देखि प्रशोधन केन्द्र निर्माणको काम थालनी भएको हो । संरचना निर्माणमै उद्योग वाणिज्य सङ्घले दशक बढी समय खर्चिएको छ ।

निजी लगानीमा जडीबुटी सङ्कलन गर्ने गरिए पनि सरकारीस्तरमा जडीबुटी सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती भएको सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल बताउनुहुन्छ ।

कर्णालीमा एक सय ४७ भन्दा बढी जडीबुटी पाइने अुनमान गरिएको छ । अहिले कर्णालीका व्यवसायी लुम्बिनी प्रदेशको नेपालगञ्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडीबुटी बिक्री वितरण गर्न बाध्य रहेको व्यवसायीको गुनासो छ ।

जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कर्णालीका जडीबुटी व्यवसायीलाई सहज हुनेछ । सुर्खेतमै सङ्कलन र प्रशोधन कार्य भएपछि जडीबुटीको ग्रेडिङसहित प्रशोधन गरी बजारीकरणमा सहज हुनेछ भने किसानले उचित मूल्य पाउनेछन् ।

आयातमुखी बजार अर्थतन्त्रलाई निर्यातमुखी बनाउने मुख्य लक्ष्यअनुसार प्रशोधन केन्द्र सञ्चालन गर्ने उद्देश्य राखेर संरचना निर्माण गरे पनि यातायातका लागि सडक पूर्वाधार सुनिश्चित नहुँदा सञ्चालनमा समस्या भएको सङ्घका अध्यक्ष कँडेलले बताउनुभयो ।

काँक्रेविहार संरक्षित क्षेत्र नेपालको पहिलो संरक्षित क्षेत्र हो । यो प्रशोधन केन्द्रको मूल गेट काँक्रेविहारको सीमासँगै जोडिएको छ । हाल प्रशोधन केन्द्रका लागि काँक्रेविहारभित्रकै बाटो प्रयोग भइरहेको पनि सङ्घका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

काँक्रेविहार क्षेत्रले आफ्नो सीमाक्षेत्रमा पर्खाल लगाउँदैछ । निर्माणाधीन पर्खाल बनिसकेपछि प्रशोधन केन्द्रले प्रयोग गरिरहेको सडक बन्द हुनेछ । संरचना निर्माण गर्दा बाटो, विद्युत्लगायतका विषयमा ध्यान नपु¥याउँदा अहिले अन्योल सिर्जना भएको छ ।

स्थायी बाटो नै नभएको स्थानमा करोडौँ लगानी गरेर संरचना निर्माण गर्नु लठ्यौलीपन भएको जानकारहरु तर्क गर्छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष कँडेलले सडकका लागि अदालतको फैसला कुरेको बताउनुभयो ।

काँक्रेविहारको सीमा क्षेत्र बाहिर जग्गा छोडेर पर्खाल लगाउन थालेपछि सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । समाचारपछि अधिवक्ता शेरबहादुर खत्रीद्वारा परेको रिट निवेदनउपर उच्च अदालत सुर्खेतले पर्खाल निर्माणको काम रोकेको छ ।

अध्यक्ष कँडेलले उक्त रिट निवेदनउपरको फैसलापछि बाटोका लागि उपयुक्त निर्णय लिने बताउनुभयो । प्रशोधन केन्द्र सञ्चालनमा औजार उपकरण खरिदका लागि पहल भइरहेको सङ्घका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया