‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी

  असोज १४, २०७९

काठमाडौं, असोज १३ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।

लिगको ढाँचा सिङ्गल वा डबल्स के हुने भन्ने विषय क्लबहरूको इच्चामा भरपर्ने बताइएको छ । एन्फाले नेपाल सुपर लिग फ्रेन्चाइज लिग भने चैत देखि जेठसम्म रिजर्भ डेटमा गर्न सक्ने जनाएको छ ।विशेष साधारण सभामा ‘बी’ डिभिजन लिग चैतमा, ‘सी’ डिभिजन वैशाखमा, जिल्ला लिग कार्तिक–मङ्सिरमा, प्रदेश, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिग जेठ देखि असारसम्म, महिला लिग वैशाखमा, माघमा उपमेयर कप, मङ्सिरमा नकआउट फुटबल जस्ता प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभामा एन्फाको चालु आर्थिक वर्षको बजेर र बार्षिक कार्यक्रम समेत पारित गरेको छ । जस अनुसार एन्फाले चालु आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी र ९२ करोड ५१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाबाट पारित गरेको छ ।

जसमा विश्व फुटबल महासङ्घ (फिफा) बाट ६१ करोड ५० लाख, एसियाली फुटबल महासङ्घ (एएफसी) बाट ८ करोड ८० लाख र बाँकी एन्फाको आन्तरिक स्रोतबाट जुटाउने एन्फाले जनाएको छ ।साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रुपियाँलाई पास समेत गरेको छ ।

एन्फा साधारण सभाले आगामी आठ वर्षको लागि फुटबलको योजना र रणनीतिक कार्यक्रमलाई परिमार्जन हुने गरी अनुमोदन पनि गरेको छ । नयाँ कार्यसमितिको चार वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर निर्माण गर्ने योजना साधारण सभाले पास गरेको छ ।

यसैगरी सन् २०२५ मा महिला र पुरुष टिमले साफ च्याम्पियनसिप जित्ने, सन् २०२७ मा एएफसी कपमा छनोट हुने, एन्फाले महिला र पुरुषको समान पाँच सय खेलाडीको ब्याकअपसहितको रणनीति बनाएर अगाडि बढ्ने जस्ता कार्यक्रम पनि अगाडि सारेको छ ।

साधारण सभाले फुटसल सञ्चालन कार्यविधि बनाउने, रोकिएको महिला लिग मङ्सिरमा गराउने र एन्फालाई व्यावसायिक बनाउन स्टाटेजिक पार्टनर खोज्ने निर्णय पनि गरेको छ । साधारण सभाले एन्फा अनुशासन समितिमा मोहनकुमार इङ्नाम संयोजक, उपाध्यक्षमा वसन्त खाँण र सदस्यमा हेमकुमार राई, उमेललाल प्रधान र रमेश नापितलाई चयन गरेको छ । उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सदाचार समिति बनाउने निर्णय पनि गरेको छ ।

बुधबारको विशेष साधारण सभाले एन्फाको बाँकी दुई सदस्य पदमा रुपेश अधिकारी र  दीपेन्द्र धिमाललाई निर्वाचित गरेको छ । बुधबार भएको पुनः निर्वाचनमा रुपेशले ५४ र दीपेन्द्रले ४७ मत प्राप्त गर्नुभयो । सदस्यकै प्रत्याशी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले सात मत प्राप्त गर्नुभएको थियो ।

यसअघि गत असार ६ गते भएको निर्वाचनमा चार जनाको समान ३९ मत आएका कारण दुई सदस्यको लागि पुनः मतदान गरिएको हो । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ ।

तपाईको प्रतिक्रिया