दक्षिण कोरियामा थप १४ हजार कोरोना संक्रमित

  असोज १०, २०७९

सोल, असोज १० : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित भएका हुन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ४६ लाख ३४ हजार ६३४ पुगेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिन २५ हजार ७९२ जना सङ्क्रमित भएका थिए । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या ३१ हजार ५१३ रहेको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये  ४२७ जना गम्भीर अवस्थामा रहेका छन् । यो सङ्ख्या भने अघिल्लो दिनको भन्दा ११ ले बढी हो ।

दक्षिण कोरियामा कोरोनाका कारण पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरियामा कोराेनाका कारण कुल मृतकको सङ्ख्या २८ हजार २४६ पुगेको छ । विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्यून भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ ।

तपाईको प्रतिक्रिया