डेढ सय बढी मोटरसाइकल चोर्ने वृजमोहन पक्राउ

  साउन २६, २०७९

बारा, साउन २६ : बारा प्रहरीले १५० भन्दा बढी मोटरसाइकल चोरी गरी बिक्री गर्ने समुहकै नाइके वृजमोहन साह सोनारलाई पक्राउ गरेको छ । प्रहरीले उनी सहित ६ जनालाई पक्राउ गरेको छ ।

बाराको पचरौता नगरपालिका–७ बेनौली टोलबाट प्रहरीले १२ वटा मोटरसाइकल सहित उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ । नाइके साहले १५० वटा मोटरसाइकल चोरी गरी बिक्रीसमेत गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।

साउन १९ गते महागढीमाई नगरपालिकाबाट दुई वटा मोटरसाइकल चोरी गरी भाग्ने क्रममा पचरौता नगरपालिकाका–७ का २१ वर्षीय विशाल कुमार सहनी र २० वर्षीय भोला पटेललाई प्रहरीले तत्काल पक्राउ गरेपछि चोर समुहलाई हात पार्न सफल भएको पत्रकार सम्मेलनको आयोजना गरी उहाँले बताउनुभयो ।

पक्राउ परेका ४ जनाबाट १० वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ । मोटरसाइकल चोरीमा पचरौता नगरपालिका–७ बनौलीका २० वर्षीय वृजमोहन साह सोनार, २० वर्षीय विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । उनीहरु माथि चोरी मुद्दाको कसुरमा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गर्ने क्रममा थप चार जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुबाट यामाहा, बजाज पल्सर, बजाज पलाटीना लगायतका १२ वटा चोरीको मोटरसाइकल बरामद गरिएको छ । गिरोहका नाइके वृजमोहन साह सोनार हुन र उनले एक्लै डेढ सय बढी मोटरसाइकल चोरी गरेको बयानको क्रममा स्वीकार गरेका प्रहरी उपरीक्षक बोगटीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया