सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सामग्री ढुवानी

  साउन १८, २०७९

काठमाडौँ, साउन १८ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत कोभिड–१९ महामारीका बेला निःशुल्क स्वास्थ्य सामग्रीको कार्गो ढुवानी तथा सामाजिक योगदान गरेको दाबी गरेको छ ।

एयरलाइन्सले आज पत्रकार सम्मेलन गरी कोभिडको बेला निःशुल्क खोप ल्याउनेदेखि स्वास्थ्य सामग्रीको कार्गो ढुवानीमा अग्रस्थानमा रहेर सरकारलाई सहयोग गरेको जनाएको हो ।

कोभिड महामारीको असहज अवस्थामा दुई वर्षदेखि संस्थागत सामाजिक उत्तरदायित्वका उद्देश्यमा आर्थिक समृद्धि, वातावरणीय दिगोपना र सामाजिक उत्तरदायित्वसँग मिल्दाजुल्दा धेरै तवरबाट राष्ट्रलाई टेवा पु¥याउने खालका कार्य जारी राखेको कम्पनीले जनाएको छ ।

हिमालय एयरलायन्सकी ब्राण्ड विभागीय प्रमुख उज्ज्वला दलीले कोभिड महामारीले विश्वजगतनै समस्यामा परेको बेलामा कम्पनीले सेवालाई निरन्तरता दिएर स्वास्थ्य सामग्री कार्गो ढुवानीमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो । उहाँले व्यावसायिक रूपमा नाफाघाटालाई मध्यनजर नगरी विश्वमा परेको समस्यालाई आफ्नोतर्फबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ सेवालाई निरन्तरता दिएको बताउनुभयो ।

एयरलाइन्सका मेन्टिनेन्स एण्ड इन्जिनियरिङ विभागीय प्रमुख राजेशप्रसाद श्रेष्ठले कोभिडको बेला संस्थागत सामाजिक उत्तरदायित्वको भूमिकालाई फराकिलो बनाउँदै सरकारको कोभिड–१९ कोषमा रु १० लाख, कोभिड–१९ अत्यावश्यक स्वास्थ्य सामग्रीका लागि कार्गो उडान सञ्चालन, विभिन्न देशबाट अलपत्र परेका व्यक्तिलाई स्वदेश फिर्ता ल्याउने कार्य, विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनेलगायतका कार्य गरिएको बताउनुभयो ।

सरकारसँग सहकार्य गर्दै दृढताका साथ र सङ्कटको घडीमा भेरोसेल भ्याक्सिनको दुई लाख डोज ल्याउन रु दुई करोड २५ लाख बराबरको चारवटा निःशुल्क कार्गो उडान सञ्चालन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

एयरलाइन्सले विगत पाँच वर्षदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ब्यानरअन्तर्गत एक गैरसरकारी संस्था ‘प्रयास नेपाल’ लाई पनि साथ दिँदै ‘शिक्षातर्फका पाइलाहरू’ कार्यक्रमअन्तर्गत विपन्न बालबालिकाका लागि वार्षिकरूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।

हिमालयले हाल चारवटा विमानमार्फत मध्यपूर्व र दक्षिण एसियाका प्रमुख देशहरू युएई, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत र बङ्गलादेशलगायत देशमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ भने चीनका विभिन्न गन्तव्यमा कार्गो उडान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया