शेर्पामाथि थ्रीस्टारको सहज जित

  पुष २५, २०७८

काठमाडौँ, पुस २५ : स्थ्रीस्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुबटलमा हिमालयन शेर्पामाथि सहज जित निकालेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टारले शेर्पालाई २–० गोलले हरायो ।

थ्रीस्टारको जितमा अन्सुमाना क्रोमाहले गोल गर्नुभयो । थ्रीस्टारले अर्को गोल हिमालयन शेर्पाबाट आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । थ्रीस्टारले ५७औँ मिनेटमा अमृत श्रेष्ठको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

थ्रीस्टारका ऋतिककुमार खड्काले अघि बढाएको बल अमृतलाई लाग्दै गोलमा परिणत भएको थियो । जसलाई शेर्पाका गोलरक्षक दिप कार्कीले बचाउने प्रयास गरेपनि सफल भएन । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा अन्सुमानाले लोकेन लिम्बुले दिएको वान भर्सेस वानको अवस्थामा गोल गर्दै थ्रीस्टारलाई सहज जित दिलाउनुभयो ।

लिगमा थ्रीस्टारको यो लगातार तेस्रो जित हो । अघिल्ला खेलमा थ्रीस्टारले च्यासल र जावलाखेललाई हराएको थियो । बल पोसेसनमा औसत देखिएको शेर्पाको फिनिसिङ पक्ष भने फितलो बन्यो । थ्रीस्टारका ऋतिक खड्का ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्तगर्नुभयो । थ्रीस्टारकै निशान खड्का ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले पाँच हजार रपियाँ पुरस्कार पाउनुभयो ।

जितसँगै थ्रीस्टार पाँचौँ स्थानमा उक्लिएको छ । थ्रीस्टारले आठ खेलबाट १३ अंक बनाएको छ । पराजित शेर्पा ११ अंक सहित छैटौँ स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको मच्छिन्द्रको २० अंक छ । दोस्रो स्थानमा रहेको मनाङको १९ तथा तेस्रो स्थानमा रहेको संकटा र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको समान १४ अंक छ ।

तपाईको प्रतिक्रिया