१२ वर्षपछि सबैभन्दा धेरै वर्षा, डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी

  कार्तिक ०३, २०७८

काठमाडौं, कात्तिक ३ : सन् २००९ पछि मंगलबार देशैभर सबैभन्दा धेरै वर्षा भएको छ । मौसम विश्लेषण शाखाको तथ्याङकअनुसार डडेल्धुरामा मात्र ९७२ प्रतिशत बढी पानी परेको छ ।

शाखाले देशैभरबाट संकलन गरेको तथ्याङकअनुसार यस अक्टोवर महिनामा मात्र सरदर ६६ मिलिमिटर पानी पर्नुपर्ने भए पनि यस महिना बुधबारसम्ममा २४८.७ मिलिमिटर पानी परेको छ, यो ६०२ प्रतिशतले बढी भएको मौसम विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । शाखाले ३० वर्षको अन्तरलाई मानेर औसत वर्षा तोक्ने गरेको छ । अक्टुवर महिनामा डडेल्धुरामा ३१ मिलिमिटर औसत पानी पर्नुपर्ने हुन्छ तर ४२० मिलिमिटर पानी परेको छ । यो ९७२ प्रतिशतले बढी रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार यो देशैभर सबैभन्दा धेरै बर्षा हो ।

त्यसैगरी धनकुटा ४५४ प्रतिशत, जनकपुरमा ४७५ प्रतिशत, दाङमा ४०७ प्रतिशत सुर्खेतमा ४३३ प्रतिशत वर्षा भएको छ । यता ५० मिलिमिटर औसत बर्षा हुने धनगडीमा ३७६ मिलिमिटर अर्थात ७११.४ प्रतिशत वर्षा भएको छ । त्यसैगरी दिपायलमा ३९ मिलिमिटर सरदरमा वर्षा हुनुपर्ने भएपनि ३९० मिलिमिटर अर्थात ८८७ प्रतिशत पानी परेको शाखाको तथ्याङकमा उल्लेख छ । विभागले देशभर २१५ मौसम केन्द्रबाट वर्षाको मापन गर्नेगरेको छ । यीमध्ये ६३ मानव सञ्चालित हुन भने १५२ वटा स्वचालित छन् । बुधबारसम्म २४ घण्टामा २०९ केन्द्रमा वर्षाको रेकर्ड भएको महाशाखाले जनाएको छ ।

विशेषतः अक्टुवर र नोभेम्बर महिनालाई सुख्खा मौसमको महिना मानिन्छ । तर यो वर्ष भने सन् २००९ अक्टुवर ६, ७ र ८ तारेखपछि देशव्यापी सबैभन्दा धेरै पानी परेको छ । अक्टुवर २० अर्थात बुधबारसम्मको २० दिनको अवधिमामात्र ४०४ मिलिमिटर पानी परेको हो । यो सामान्यभन्दा धेरै फरक भएको मौसमविद् बरुण पौडेलले बताउनुभयो । पोष्ट मनसुनको अवधिमा यसरी पानी पर्नुले हामी नै चकित भएका छौ, यसबारेमा विष्लेषणसँगै थप अध्ययन गर्ने मौसम पुर्वनुमान महाशाखाले तयारी थालेको छ, उहाँले भन्नुभयो ।

सन् २००९ को अक्टुवर ६ तारेखमा कास्कीमा ३८०.६ मिलिमिटर, कैलाली ३६१.३ मिलिमिटर र कञ्चनपुरमा ३२६.६ मिलिमिटर पानी परेको थियो । महाशाखाको तथ्याङकअनुसार मंगलबार २४ घण्टामा विराटनगरमा सबैभन्दा धेरै ३२३ मिलिमिटर पानी परेको थियो । त्यसपछि धनकुटा १६३ मिलिमिटर र धनगढीमा १३७ मिलिमिटर पानी परेको छ । मंगलबार सबैभन्दा कम भैरहवामा ४.५ मिलिमिटर पानी परेको थियो ।

भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली रहनु र पश्चिमी वायू प्रणालीको प्रभावसमेत संयुक्त रुपमा हुँदा नेपालमा भारी वर्षा भएको मौसमविद् बरुण पौडेलले बताउनुभयो । यसरी दुवै प्रणाली एक आपसमा ठोक्किदा धेरै पानी पर्ने सम्भावना हुनेगरेको उहाँले बताउनुभयो । तर यो प्रणाली कहिलेकाहीँ मात्र हुनेगरेको उहाँले जानकारी दिनुभयो । यस वर्ष जनवरीदेखि बुधबारसम्म जम्मा ११०.३ प्रतिशत अर्थात १९२६.३ मिलिमिटर पानी परिसकेको छ ।

वर्षभर देशमा औसतभन्दा १०.३ प्रतिशत पानी परिसकेको छ । सोमबारदेखि एक्कासी परेको ठूलो पानीका कारण देशभर धेरैमात्रामा धनजनमा क्षति गरेको छ । यो वर्षको मनसुनी अवधिमा मात्र ११५.५ प्रतिशत पानी परेर १० दिन ढिलो गरी यस वर्ष असोज २६ गतेदेखि नेपालबाट मनसुन वाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया