स्विचिङ स्टेसन सञ्चालन : हुवासिन सिमेन्टलाई विद्युत् सहज

  कार्तिक ०१, २०७८

काठमाडौँ, कात्तिक १ : नेपाल विद्युत् प्राधिकरणले धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन सञ्चालनमा आएको जनाएको छ । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेसन शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो ।

प्राधिकरणका अनुसार तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइनेछ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने जनाइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैँको बेलामा विद्युत् माग कम हुने मौका पारेर स्विचिङ स्टेसन चार्ज गर्न अनुमति दिइएको बताउनुभयो । “अन्य समयमा मस्र्याङ्दी–स्युचाटार १३२ केभी ट्रङ्क लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैँको बेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेसन चार्ज भयो”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्नेछ । ”

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२-१० केभीको सबस्टेसन निर्माण गरेको छ । प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिनेछन् । “स्विचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गरिनेछ”, उहाँले भन्नुभयो । “यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्तिसमेत विश्वसनीय हुनेछ । ”

तपाईको प्रतिक्रिया