नाफा बुकमा लागे लगानीकर्ता

  असोज २६, २०७८

काठमाडौँ, असोज २६ : दशैँ बिदाअघिको अन्तिम दिनको सेयर पनि ओरालो लागेको छ । लगानीकर्ता नाफा बुकिङ गर्नतर्फ लागेपछि नेप्से परिसूचक २३.१९ अङ्कले घटेको हो । सोमबार नेप्से परिसूचक २६३९.३७ को बिन्दुमा रोकिएको छ । ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ बिन्दुमा सीमित भएको छ ।

सोमबार कुल २१९ कम्पनीका ९३ लाख १४ हजार ७८० कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार रुपियाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फन्ड, इन्भेस्टमेन्ट समूहका परिसूचक सामान्य अङ्कले उकालो लागेका छन् बाँकी ११ वटै समूहका परिसूचक ओरालो लागेर बजार बन्द भएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक ७८.९६ अङ्कले ओरालो लागेको छ भने लघुवित्त समूह ६७.५८ अङ्कले ओरालो लागेको छ । विकास बैङ्क समूह ६५.३८ अङ्कले ओरालो लागेको छ । बैङ्किङ समूह १६.२५ अङ्कले खस्केको छ ।

कारोबारका आधारमा नबिल बैङ्क अग्रस्थानमा छ । बैङ्कको १७ करोड १३ लाख ८५ हजार रुपियाँभन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर एक हजार ४५० रुपियाँ कायम भएको छ । हिमालयन डिस्टिलरी १६ करोड ९२ लाख रुपियाँभन्दा बढीको कारोबार गरेर दोस्रो स्थानमा रहेको छ । कम्पनीको अन्तिम सेयर मूल्य छ हजार ८८५ रुपियाँ कायम भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा महालक्ष्मी विकास बैङ्क, नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क र नेपाल बैङ्क रहेको छ । ग्लोबल आईएमई सम्मुन्नत स्किम १ का लगानीकर्ताले ९.९० प्रतिशतसम्म आम्दानी गरेका छन् । उच्च आम्दानी गर्ने अन्य कम्पनीमा सानिमा लाइफ इन्स्योरेन्स, नेपाल इन्फ्रस्ट्रक्चर बैङ्क, कुमारी इक्विटी फन्ड रहेका छन् ।

तपाईको प्रतिक्रिया