मल खरिद गर्न बजेट अभाव

  भदौ २९, २०७८

काठमाडौँ, भदौ २९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट अभाव भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार भएको छलफलमा सचिव आचार्यले किसानका लागि करिब छ लाख मेट्रिक टन मल चाहिने, त्यसका लागि अहिले दिएको रकम पर्याप्त नरहेको जानकारी गराउनुभएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि दिएको रकमले साढे दुई लाख मेट्रिक टन मलमात्र आउने सचिव आचार्यले बताउनुभएको छलफलमा सहभागी कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा बर्सेनि मलको अभाव किन हुन्छ भन्ने समितिका सदस्यले जिज्ञासा राखेपछि कृषि सचिव आचार्यले मलको अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि तथा डलरको भाउमा उतारचढाव हुँदा मल आपूर्तिमा समस्या हुने गरेको बताउनुभएको थियो ।

समितिले रासायनिक मलको आपूर्ति, सञ्चिती र वितरणको अवस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आव २०७७/७८ को कार्यप्रगति र चालु आवको कार्ययोजनासम्बन्धमा छलफलका लागि कृषि मन्त्रालयका प्रतिनिधिलाई बोलाएको थियो ।

समितिले कृषि मन्त्रालयका सचिव आचार्यलगायत साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडलाई हाल नेपालमा रासायनिक मल अवस्था, अभाव हुनुका कारण, आपूर्तिको अवस्थालगायतबारे विस्तृत जानकारी गराउन निर्देशन दिएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार अहिले नेपालसँग युरिया तीन हजार ३४५ मेट्रिकटन र डीएपी दुई हजार २३५ मेट्रिकटनमात्र रहेको छ । यो भदौ मसान्तम्मका लागि मात्र हो । अर्को मल अक्टोबरको पहिलो हप्तादेखि मात्र आउँछ ।

तपाईको प्रतिक्रिया