दशैंमा हवाइ सेवा : जहाजसँगै उडान संख्या थप्दै कम्पनी, टिकट अभाव नहुने

  भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : विगतका वर्षहरुमाजस्तै यस वर्षको दशैं तिहार र छठ पर्वको समयमा हवाइ यात्रुका लागि टिकटको समस्या नहुने भएको छ । वायूसेवा सञ्चालक सङ्घ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सङ्ख्या थप गरी यात्रुलाई सहजरुपमा टिकट पाउने व्यवस्था गर्ने तयारी गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबहादुर तिवारीले जानकारी दिनुभयो ।

कोरोना महामारी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दैनिक उडान थप गर्दै हाल १०७ वटासम्म उडान गर्दैआएको छ । संक्रमणको दरमा कमी आएकाले दशैंमा उडानहरु थप गरी यात्रुहरुलाई सहज रुपमा टिकट पाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । विमानस्थलको यस अघिको तथ्याङक हेर्दा दैनिक ३०० वटा सम्म आन्तरिक उडान गरेको पाइएको छ । विमानस्थल हाल १८ घण्टा सञ्चालन हुँदैआएको छ । हाल नेपालमा नौ वटा हवाइ कम्पनीको ३८ वटा जहाजले नियमित रुपमा आन्तरिक उडान र आन्तरिकतर्फ नै १० वटा हेलिकप्टर कम्पनीका ३३ वटा हेलिकप्टरले हवाइ सेवा दिंदै आएका छन् । श्री एयरको दुई वटा र सञ्चालनको तयारीमा रहेका गुण एयरको सात वटा जहाज गरी ९ वटा जहाज थप गर्ने तयारीमा छ ।

वायूसेवा सञ्चालक कम्पनीहरुले समेत उडान थप गरी सस्तो सुलभ दरमा आकर्षक छुटसहित सेवा दिने गरी कार्यक्रम ल्याउने तयारी थालेको जनाएको छ । सुगम क्षेत्रका सबै विमानस्थलमा एटिआर ७२ जहाज पुगेकाले यात्रुलाई टिकटको समस्या नहुने र भएमा उडान सङ्ख्या समेत थप गरी सेवा दिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । ठूला जहाज भएकाले सिट क्षमता प्रशस्तै छ, हामीले उडान सङ्ख्या पनि वृद्धि गरेकाले दशैं तिहार र छठमा टिकटको समस्या नहुने बुद्ध एयरका कम्युनिकेस म्यानेजर दीपेन्द्र कर्णले बताउनुभयो ।

कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा २०२० मा आन्तरिक हवाइ यात्रुको सङ्ख्या ५९.४६ प्रतिशत र अन्तर्राष्ट्रिय हवाइ यात्रुको सङ्ख्या ७३.२७ प्रतिशतले घटेको नागरिक उडड्यन प्राधिकरणको तथ्याङक छ । दुर्गम क्षेत्रमा उडान भर्दै आएकामध्ये नेपाल एयरलाइन्सको दुई, तारा एयरको तीन, सीता एअरको तीन र समिट एयरको चार वटा जहाजले थप उडान सङ्ख्या वृद्धि गर्ने तयारी गरेको विमानस्थलले जनाएको छ ।

तपाईको प्रतिक्रिया