बाढीमा परेर न्यूयोर्कमा तीन नेपालीको निधन

  भदौ १८, २०७८

न्युयोर्क (अमेरिका) भदाै १८ : न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारको तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्राेतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङगेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङमायाङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् ।

गोरखापत्र अनलाइनका अनुसार, न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानवीन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आउनु भएकाे थियाे । 

‘अकल्पनीय घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा हामीलाई निकै दुख लागिरहेको छ ’ आङ गेलु लामाका दाइ लातेन लामाले बताउनुभयाे। न्युयोर्कमा परेको अविरल वर्षाका कारण एक दर्जन भन्दा बढीको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।

यसैबीच, न्युयोर्कस्थित शेर्पा किदुंगले मृतक लामाको परिवारको दुखद निधनप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गरेको छ । अमेरिकास्थित नेपाली दूताबासले भने यस विषयमा न्युयोर्क आधिकारीक जानकारी गराएकाे छैन । स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीकाे मृत्यु भएकाे समाचार प्रकाशित गरेकाे छ । 

तपाईको प्रतिक्रिया