युनिफाइड अस्पतालमा निःशुल्क सेवा, एक हप्तामै १५० बिरामी भर्ना

  जेठ २५, २०७८

काठमाडौँ, जेठ २५ : वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित बिरामी उपचार गराउन आउने क्रम दैनिक रुपमा बढ्दो छ ।

युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले कोरोनाका बिरामी नयाँ भवनमा उपचारको लागि आउनेक्रम बढिरहेको जानकारी दिनुभयो । निःशुल्क खाना र औषधीसहित कोरोना संक्रमित बिरामीलाई उपचार सेवा दिएको उहाँले जानकारी दिनुभयो ।

जुन आर्थिक रुपमा कमजोर हुनुहुन्छ, संक्रमण भएर घरखेत बेचेर उपचार गराउन पर्ने डरमा हुनुहुन्छ, उहाँहरु यस वीर अस्पतालको युनिफाइड अस्पताल आउनुहोस् सरकारले निःशुल्क गरिरहेको डा. गौतम बताउनुहुन्छ ।

अक्सिजन सेवा सुविधासहित एक हप्ताअघि सञ्चालनमा आएको यस अस्पतालमा शुरुमा ५० बेड सञ्चालनमा आए पनि अहिले एक सय ५० भन्दा बढी बिरामीले उपचार पाइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले बिस्तारै बेडको संख्या र आइसीयूलगायत अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु थप्दै जान थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी गौतमले बताउनुभयो । तत्काल एक सय आइसीयू थप गर्न थालेको जानकारी दिँदै अक्सिजन टयाङक र प्लान्ट जडान पनि अबको केही दिनमै हुने भएको छ ।

वीरको अर्को भवनमा उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याउने र अरु भवनमा कोरोना बाहेकका विरामीलाई मात्रै उपचार गराउने र यो भवनमा कोरोना संक्रमितको मात्र कोभिड विशेष अस्पतालको रुपमा उपचार गराइनेछ ।

उहाँका अनुसार यस सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ । यो भवन खासगरी विरामीको शल्यक्रियाको लागि मात्र बनाएको भए तापनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो ।

युनिफाइड अस्पतालबाट देशै भरका अस्पतालसँग समन्वय गरिने भएको छ । अन्य सरकारी, निजी र सामुदायिक अस्पतालमा कोभिडका विरामीको अवस्थाबारे यस अस्पतालबाट समन्वय गरी विरामीको उपचार गर्ने व्यवस्थासँगै दैनिक अस्पतालको रिपोर्टिङ वीरको युनिफाइट अस्पतालबाटै हुनेछ । कस्तो अवस्थाको बिरामीलाई कुन अस्पतालमा रिफर गर्नेदेखि व्यवस्थापनको काम यहीँबाटै हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया