नरैनापुरका ११२ आगलागी पीडितको टेन्टमा बास, राहत पुग्न थाल्यो

  चैत २२, २०७७

नेपालगञ्ज, चैत २२ : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागी हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२ घर जलेर खरानी भएपछि घरबारविहीन भएका परिवारलाई अस्थायी रुपमा ४० वटा टेन्टमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।

भावुक हुँदै उहाँले प्रकृतिले पनि बर्सेनी नरैनापुरलाई नै पटक पटक निसाना बनाउँदै गएको बताउनुभयो । उहाँले आगलागि पीडितको दुःख र पीडा हेरेर निकै दुःख लागेको बताउनुभयो । आगलागि पीडितलाई सहयोग गर्न सरकार र निजी संघसंस्थाहरुसँग सार्वजनिक अपील गरेको जनाउँदै अध्यक्ष शाहले सहयोगको वचनहरु आउन थालेको बताउनुभयो । ‘११२ परिवारसँग न त लगाएको लुगा बाहेक केही छ न त खाद्यान्न र भाँडाकुँडा नै केही जोगिएको छ, उनीहरुको रोदन हेरेर मन दुख्छ,’ शाहले भन्नुभयो ।

यसैबीच, आगलागीबाट घरबारविहीन भएका परिवारलाई छ लाख रुपियाँ बराबरको तयारी खाद्य सामग्री वितरण गरिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । शनिबार दिउँसो लागेको आगोले नरैनापुर गाउँपालिकाको वडा न ४ खोदावा गाउँका ११२ घर जलेर नष्ट हुनुका साथै दुई करोड बढीको जिन्सी तथा खाद्य सामाग्रीको क्षति भएको थियो भने चार जना घाइते भएका थिए ।

आगलागी पीडितका लागि राष्ट्रिय मधेशी आयोगका सदस्य विजय गुप्ताले दिनुभएको पाँच लाख र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सहनिर्देशक डा. रोमन किदवाईले दिनुभएको एक लाख गरेर छ लाख रुपियाँको तयारी खाद्य सामाग्री वितरण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले बताउनुभयो । उहाँले वितरण गरिएको सामाग्रीमा चाउचाउ, बिस्कुट, भुजा र पानी रहेको बताउनुभयो । जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट सोमबार नगद राहात वितरण गरिने समेत उहाँले बताउनुभयो ।

यसैगरी, लायन्स क्लब अफ नेपालगञ्जको तर्फबाट हरेक परिवारलाई एक हजार बराबरको गरेर एक लाख १२ हजारको खाद्यान्न वितरण गरिएको लायन्स क्लब अफ नेपालगञ्जका कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सोही प्रकारले बी ग्रुपले पनि हरेक परिवारलाई गैर खाद्य सामाग्री र डिगनिटी किट वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया