विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुरु

  फागुन १५, २०७७

सुदूरपश्चिम, फागुन १५ : आजबाट धनगढीमा शुरु भएको विद्यालयस्तरीय ‘लिटल फ्लावर प्रिमियर लिग-५’ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विद्या भूषण कैलालीले विजयी शुरुआत गरेको छ ।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगिताको पहिलो दिनको खेलमा धनगढीको लिटल फ्लावरलाई सात विकेटले पराजित गर्दै विद्या भूषणले विजयी शुरुआत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५२ रन बनायो । उसका लागि सुभाश ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । वलिङतर्फ विद्या भूषणका शेर मल्लले तीन, वीरेन्द्र नाथ र प्रदीप चन्दले दुई÷दुई तथा सञ्जय केसीले एक विकेट लिए ।

१५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव पाँच ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका शुरुआती ब्याट्सम्यान शेर मल्ल र वीरेन्द्र नाथले १२२ रनको साँझेदारी खेलेका थिए । नरेन साउँदले अविजित रहँदै २६ रन बनाए । लिटल फ्लावरका राजकुमार शाहले दुई र विपिन रावलले एक विकेट लिए । खेलका ‘म्यान अफ द म्याच’ विद्या भूषणका शेर मल्ल भए ।

धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा शुरु भएको प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले शुभारम्भ गर्नुभएको थियो । प्रतियोगितामा काठमाडौ र कञ्चनपुरका दुई÷दुई, रुपन्देही र दाङका एक-एक तथा कैलालीका १० विद्यालयका १६ क्रिकेट टोलीको सहभागिता रहेको आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो ।

प्रतियोगिताको विजेतालाई रु एक लाख २० हजारसहित ट्रफी तथा प्रमाणपत्र र उपविजेतालाई रु ६० हजार पुरस्कार स्वरुप प्रदान गरिने जनाइएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही रु पाँच÷पाँच हजार प्रदान गर्न लागिएको छ ।

तपाईको प्रतिक्रिया