जुम्लाका आठवटै स्थानीय तहले माटाको छानामुक्त गराउँदै

  पुष २८, २०७७

खलङ्गा, पुस २८ : जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरिब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छानामुक्त बनाउन थालेका छन् । यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ स्थित फलबाडा गाउँलाई माटोको छानामुक्त गाउँ अभियान थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताउनुभयो ।

गाउँ कार्यपालिको बैठकले सो वडाको गाउँलाई छनोट गरी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाएको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ । उहाँले भन्नुभयो, “पालिकाभित्रका सबै स्थानीय बासिन्दाको घर माटोको छानाले छाएका छन् ।

यो वर्षको सबै बजेट एउटै वडाको एक गाउँलाई छनोट गरी विकासे योजनालाई देखिने गरी काम शुरु गरेका छौँ ।” यो अभियान क्रमशः पालिका नौवटै वडाका गाउँमा लागू हुने तिला गाउँपालिका जनाएको छ । प्रतिघरलाई रु ५० हजारका दरले सो वडाका करिब २५० घरधुरीलाई पहिलो चरणमा माटोको छानामुक्त घर गर्न थालेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जङ्गबहादुर बस्नेतले बताउनुभयो ।

गाउँपालिका सातवटै वडाका ६५ जना आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरी माटोको छानामुक्त गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाइसकेकाले र त्यहाँबाट बजेट आउने बित्तिकै माटोको छानामुक्त घर निर्माण गर्न लागि पर्ने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो ।

 धनजनको हुने क्षति बचाउनका लागि माटोको छाना हटाएर जस्तापाताको छाना प्रयोग गरिने यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । सो पालिकाले पनि दोस्रो चरणमा यहाँका सबै वडाका गाउँलाई माटोको छानामुक्त गाउँ गरिने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।

यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहले पनि सञ्चालन गरेका छन् । जिल्लाको हिमा, सिञ्जा, तातोपानी, कनकासुन्दरी, गुठीचौर र चन्दननाथ नगरपालिकामा पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरण पुगेको ती स्थानीय तहका सामाजिक विकास शाखाले जनाएका छन् ।  

तपाईको प्रतिक्रिया