अध्यक्ष प्रचण्डसँग पौडेल र नेम्वाङ भेट, छलफल सकारात्मक

  मंसिर ०५, २०७७

काठमाडौं, मंसिर ५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलमा पार्टीको आन्तरिक विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्डले दुवै नेतासँग अलग अलग छलफल गर्नुभयो । उहाँहरुबीच पार्टीको आन्तरिक विवाद सल्टाउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले दुवै नेतासँग आधा घण्टाको दरले छलफल गर्नुभएको थियो । यसअघिसम्म आफ्नै निवास खुमलटारमा नेताहरुसँग छलफल र भेटवार्ता गर्दैआउनुभएका प्रचण्डले शुक्रबार दुवै नेताहरुसँग धुम्बाराही पार्टी कार्यालयमा छलफल गर्नुभयो ।

छलफलमा महासचिव पौडेलले अध्यक्ष प्रचण्डलाई गत कात्तिक २८ गते सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव फिर्ता लिई सहज वातावरण बनाउन आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी गराएको छ । तर अध्यक्ष प्रचण्डले सो विषयमा ठोस उत्तर नदिनुभएको बुझिएको छ ।

त्यस्तै, छलफलमा सहभागी स्थायी कमिटी सदस्य नेम्वाङ्ले दुई अध्यक्ष केपी शर्मा अाेली र प्रचण्डले मिलेर पार्टी एकता गरेकाले पार्टी जोगाउने जिम्मेवारी पनि मिलेरै सम्भव हुने सुझाव दिनुभयो । पूर्व सभामुख नेता नेम्वाङले भन्नुभयो, “छलफल सकारात्मक भयो, पार्टी एकता जोगाउन आफू गम्भीर रहेको उहाँले भन्नुभएको छ ।”

गत कात्तिक २८ गतेदेखि शुरु भएको प्रथम सचिवालय बैठक मंसिर ३ गते दोस्रो पटक बुधबार पनि बसेको थियो । १३ गते तेस्रो पटक बैठक बस्ने निर्णय यसअघिको बैठकले गरेको छ । पहिलो बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई ‘आरोपपत्र’को संज्ञा दिनुभएको प्रधानमन्त्री ओलीले तेस्रो बैठकमा त्यसको जवाफ दिने बताउनुभएको थियाे ।

तपाईको प्रतिक्रिया