‘खेल पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा’

  कार्तिक २३, २०७७

कास्की ,कात्तिक २२ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार गठनपछि देशभर खेल पूर्वाधार निर्माणले तीव्रता पाएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको आज उद्घाटन गर्दै उहाँले खेल क्षेत्रको विकास पूर्वाधार निर्माण विना सम्भव नरहेकाले सरकारको प्राथमिकता पूर्वाधार निर्माणमा केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“पूर्वाधार निर्माणबाट मात्रै गाउँ गाउँमा खेलकूद गतिविधि बढेर नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्दछ”, मन्त्री विश्वकर्माले भन्नुभयो, “त्यसका लागि वर्तमान सरकारले खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ ।”

गत वर्षदेखि एक स्थानीय तह एक खेलग्राम कार्यक्रम कार्यान्वयन शुरु गरिएकाले सबै तहमा स्थानीयस्तरको रंगशाला निर्माण गरिने उहाँले बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले भलिबल कोर्टसहित बाम्दीमा पक्की कालोपत्रे सडक निर्माण शुरु भएकाले खेल गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले गत वर्ष सम्पन्न १३ औँ सागमा निर्माण गरिएका पूर्वाधारको भुक्तानी अझै बाँकी रहँदा समस्या भएको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्ले गत वर्ष उपलव्ध गराएको रु ५० लाख बजेटबाट भलिबल कोर्ट निर्माण गरिएको जिल्ला भलिबल संघका अध्यक्षसमेत रहनुभएका स्थानीयवासी भीम पराजुलीले बताउनुभयोे ।

सो मैदानका लागि स्थानीयवासीबाट रु पाँच लाख ८४ हजार बराबरको श्रमदान भएको बताइन्छ । वडा कार्यालयले भलिबल कोर्टसहित दर्शकका लागि प्यारापिट निर्माण गर्न जग्गा उपलव्ध गराएको सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिनुभयो । जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गत वर्ष जिल्लामा विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया