बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी

  कार्तिक २३, २०७७

कनकाई, कात्तिक २२ : झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्षभित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरु गरेको छ । हाल प्रदेश १ का मुटुका बिरामी उपचारका लागि काठमाडौँ तथा भारतको दिल्ली र भेलोर जानुपर्ने अवस्थालाई अन्त्य गर्न शिक्षण अस्पतालको सो तयारी थालेको हो ।

अस्पतालले चिकित्सक, पूर्वाधार तथा उपकरण सहित आन्तरिक तयारी द्रुत रुपमा अगाडि बढाएको अस्पतालका कार्यकारी निर्देशक दूर्गाप्रसाद प्रसाईँले जानकारी दिनुभयो । अस्पतालले विगत तीन वर्षदेखि विशेषज्ञ चिकित्सकसँगको समन्वयमा मुटु सम्बन्धी गुणस्तरीय सेवा सञ्चालन गर्दै आएको छ । उहाँले भन्नुभयो “अब अस्पतालले मुटु प्रत्यारोपणको योजना अघि सारेको छ । यो कार्य चुनौती भएपनि हामी सफलता हासिल गर्छाै । ”

हालै मात्र अस्पतालले मुटु रोगको सम्पूर्ण उपचारका लागि अत्याधुनिक क्याथल्याब सेवा सञ्चालनमा ल्याएको छ । करिव ५० करोड रुपैयाँको लगानीमा प्रदेश १ मा पहिलोपटक सो सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ । कार्यकारी निर्देशक प्रसाईले सस्तो र गुणस्तरीय सेवा चिकित्सकीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

हाल क्याथल्याव सेवाबाट ६ जना बिरामीको उपचार हुँदै आएको अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा उमेश यादवले जानकारी दिनुभयो । उहाँले मुटु रोगको उपचार बिधिका बारेमा जानकारी दिँदै अस्पतालको उपचार सेवा नेपालकै उच्च प्रविधियुक्त र सुविधासम्पन्न भएको दाबि समेत गर्नुभयो ।

स्वदेश र विदेशका समेत मुटुरोगका विशेषज्ञ चिकित्सककोे लामो अनुभवको सेवा अब वि एण्ड सीबाट उपलब्ध हुने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो । तीनसय श्ययाको सो अस्ततालले गतवर्षदेखि प्रदेश १ मा नै पहिलो पटक क्यान्सर उपचार सेवा शुरुआत गरेको थियो । अस्पतालले मिर्गाैला रोगीका लागि उपचार तथा डायलाइसिस सेवा समेत प्रदान गर्दै आएको छ । पछिल्लो समय अस्पतालले कोरोना भाइरसका बिरामीलाई समेत उत्कृष्ट सेवा प्रदान गर्दै आएको अधिकृत गिरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया