दसैँको टीका थापेपछि भारत जाने नेपालीको नाकामा भीड

  कार्तिक १३, २०७७

बाँके, कात्तिक १३ : विजयादशमी सम्पन्न हुन केही दिन बाँकी छ । नेपाल–भारत सीमास्थित जमूनाह नाकामा चैतदेखि अत्यावश्यक बाहेकको आवागमन बन्द छ । यस्तो अवस्थामा पनि नाकामा भारत जाने नेपालीहरुको दैनिक ठूलो भीड देख्न सकिन्छ ।

भारत जानका लागि दैनिक सयौंको सङ्ख्या मानेपाली बिहानैदेखि नाकामा पुगेका हुन्छन् । दिनभर लाईन लागेर पनि सीमापार जान नसकेका भोलिपल्ट फेरि आउने गरेका छन् । लामो समयको बन्दका कारण गाउँमा बस्न आर्थिकरुपले समस्या भएपछि भारत जानुपर्ने बाध्यता रहेको सुर्खेत सिम्ताका बीरवहादुर थापाले बताउनुभयो । विजयादशमीको टीका लगाएको भोलिपल्ट आफुहरु भारत जानका लागि घरबाट हिँडेको थापाले बताउनुभयो ।

कोरोनाका कारण यसवर्ष विगतमा भन्दा पहिले नै घरमा आउनुप-यो, थापाले भन्नुभयो,– घरमा पैसा नभएपछि तिहार मान्न छोडेर भारत जान थालेका छौं । सीमामा यसरी भारत जानेमा महिला र उनीहरुको काखमा शिशुसमेत छन् । सीमास्थित ईलाका प्रहरी कार्यालय जमूनहाका प्रहरी ईन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीका अनुसार बन्दाबन्दी सुरु भएपछि गत चैतदेखि असोज मसान्तसम्म ९० हजार ९११ जना जमुनाह नाका भएर नेपाल प्रवेश गरेका छन् । यसैगरी ४४ हजार २२७ नेपालबाट भारततर्फ प्रस्थान गरेका छन् । जसमध्ये आठ हजार ८३ जना नेपाली छन् ।

सीमा क्षेत्रमा सुरक्षा निकायले आवागमनमा कडाई गरे पनि नेपालीह भारतमा उपचार तथा औषधि खरिद गर्न भन्दै भारततर्फ जाने गरेका छन् । यसबाहेक भारतीय आधारकार्ड भएकाहरुलाई दुबै देशका सुरक्षा निकायले सहजै सीमामा प्रवेश गर्न दिएका छन् । पछिल्लो समय भारत जाने नेपालीहरुलाई सीमामा भारतीय सुरक्षा निकायले पनि सामान्य व्यवहार गर्ने गरेका छन् । बुधबार जमुनाह नाका भएर ३५० नेपाली भारत प्रस्थान गरेका छन् । भारतबाट समेत मानिसहरु नेपालमा आफन्तको मृत्यु संस्कारमा सहभागी हुन तथा उपचारको लागि आउने गरेको सीमामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया