परीक्षा दिन हिँडेकी किशोरीको बलात्कारपछि हत्या

  चैत ०६, २०७६

इलाम, चैत ६ : परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको छ । सूर्योदय नगरपालिका–१३, लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार हत्या गरिएको हो । स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन आउँदै गर्दा विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

किशोरीलाई बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। ‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी किशोरीलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी हत्या गरेर खाडलमा पुरिएको फेला परेको छ,’ बिहीबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी किशोरी मंगलबार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे। बुधबारमात्र शव फेला परेको हो।’

प्रहरीका अनुसार किशोरीले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टामा बेरी नहल्लिने बनाएर, टाउको प्लास्टिकको बोरामा हाली पुरिएको अवस्थामा शव भेटिएको छ। ‘किशोरीलाई ढुंगाले टाउकामा प्रहार गरी हत्या गरेको देखिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि ४ जना पक्राउ परेकामा १ जनाले चाहिँ आफैंले हत्या गरेको बयान दिएका छन्।’

किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरकै २१ वर्षे रोशन राईलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। ‘पक्राउ परेका राईले आकृतिको आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ परेका अन्य ३ जनालाई सोधपुछपछि छाडिएको छ।’

यसरी गरियो हत्या
सधैंझैं मंगलबार बिहान साढे ९ बजेतिर घरबाट परीक्षा दिन स्कुल हिँडेकी आकृति विद्यालय पुग्न पाइनन्। घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको विद्यालय पुग्न १५ मिनेट बाँकी नै थियो। विद्यालयमा चलिरहेको कक्षा ११ को परीक्षा दिन २ विषयमात्रै बाँकी थिए। परीक्षा सुरु भइसक्दा पनि आकृति स्कुल नपुगेपछि शिक्षकले उनको घरमा सम्पर्क गरे। आकृति सधैंझैं समयमै स्कुल हिँडेको तर आइनपुगेको थाहा पाएपछि शिक्षकले स्थानीय अभिभावकलाई आकृति बेपत्ता भएको खबर गरे।

प्रहरीका अनुसार आकृतिलाई सबैतिर खोजियो, कतै फेला पारिएन। भोलिपल्ट बुधबार स्कुल पुग्नुअघि नै उनलाई खाडलमा पुरिएको आशंका भयो। अभिभावकले प्रहरीमा खबर गरे। ‘किशोरीलाई हत्या गरी पुरिएको आशंका गरी हामीलाई खबर आयो,’ पशुपतिनगर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश राईले भने, ‘हामी घटनास्थल पुग्दा साढे १ बजेको थियो।’ स्थानीयसँग सोधपुछ र अनुसन्धानपछि खाडल खनेर हेर्दा पुरिएको शव आकृतिकै भएको पुष्टि भएको उनले बताए।

‘रोशनले आकृतिलाई ढुंगाले टाउकामा प्रहार गरेर हत्या गरेको, हत्यापछि बालिकाको चप्पल र किताब नजिकै रहेको गोठको मलखाडीमा लगेर पुरेको पनि बयान दिए,’ इन्स्पेक्टर राईले भने, ‘किशोरीलाई प्रहार गरेको ढुंगा र उनको चप्पल रोशनले नै देखाएर हामीले भेट्टाएका हौं।’ पक्राउ परेका रोशनको चप्पल र लुगामा समेत रगत लत्पतिएको इन्स्पेक्टर राईले जनाए।

रोशनले किशोरीलाई बलात्कार गरेपछि किशोरीले ‘अरूलाई भनिदिन्छु’ भनेकाले ढुंगाले हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। तर, पक्राउ रोशनले किशोरीको हत्या गरिसकेपछि पुरेको बयान दिएपनि हत्या भइसकेपछि हो या उनको मृत्यु नै नभई खाडलमा पुरिएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। बालिकाको शव घना अम्लिसोबारीभित्र तरुल खनेर छाडेको खाडलमा पुरिएको पुरिएको अवस्थामा रहेको नागरिक दैनिकले जनाएको छ ।

आकृति र रोशनको घर करिब आधा किलोमिटर दूरीमा पर्छ । तर, किशोरीको हत्या भएको स्थाननजिकै रोशनको गाईगोठ रहेकाले रोशन त्यसदिन बिहानैदेखि गोठमै थिए। रोशनका बुबा–आमा त्यसदिन पाथीभरा घुम्न गएकाले रोशन गोठमा एक्लै रहेको प्रहरीले जनाएको छ। ‘रोशन र आकृतिको चिनजान भएपनि अन्य सम्बन्ध नभएको बुझिएको छ,’ इन्स्पेक्टर राईले भने, ‘घटना पनि योजनाबद्ध नभई आकस्मिक रूपमा भएको अहिलेसम्मको अनुसन्धानले देखाउँछ।’

किशोरीको पारिवारिक अवस्था दयनीय
हत्या गरिएकी आकृति आर्थिक हिसाबले निम्न परिवारकी हुन्। उनका बुबा पूर्णबहादुर करिब ७ महिनाअघि अरिंगालको टोकाइबाट बिरामी भएपछि निको भएका छैनन्। पूर्णबहादुरलाई अहिले डाइलाइसिस गराइरहनुपर्छ। र, उनी आफ्ना सबै अंगले काम नगर्ने अवस्थामा पुगेका छन्।

आकृतिकी आमा पनि ६/७ वर्षअघि नै अर्काे बिहे गरेर गएपछि आकृतिले मातृवात्सल्य पाइनन्। घरमा १३ र १० वर्षका २ भाइ छन्। आकृतिको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी पाण्डेले भने।

तपाईको प्रतिक्रिया