पाँचखपनमा आगलागी हुँदा आठ लाख क्षति, एक घाइते

  चैत ०६, २०७६

खाँदबारी, चैत ५ : संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा आगलागी हुँदा आठ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट पाँचखपन–८ पोख्राङका बृहस्पति गौतमका दुई घर जलेर नष्ट भएको नगरपालिकाका उपप्रमुख भीमादेवी राईले जानकारी दिए ।

मंगलबार राति १० बजे खोले पकाउँदै गरिएको आगो सल्किएर गौतमका घरमा भएका खाद्यान्न, लत्ताकपडा, १२ हजार, दुई तोला सुनलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको उपप्रमुख राईले बताए । राति आगो नियन्त्रण गर्न नसकिएको उनले बताए । आगलागीबाट आठ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीचौकी पाँचखपनले जनाएको छ ।

आगो निभाउने क्रममा पाँचखपन –८ का टंकप्रसाद गौतम र छत्रबहादुर दाहाल घाइते भएको वाना प्रहरी चौकीले जनाएको छ । घाइते गौतमलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उपप्रमुख राईले जानकारी दिए । आगो निभाउने क्रममा गौतमलाई शरीरका विभिन्न भागमा पोलेको स्थानीयवासी अशोक न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया