प्लाष्टिकका पोकामा पैंसा फलाउँदै पुष्कर

  चैत ०५, २०७६

बैतडी, चैत ५ : लहरै झुण्डिएका प्लाष्टिकका साढे पाँचसय पोका छन् । प्लाष्टिकको एउटा पोका भित्रबाट दुईहजार रुपियाँ भन्दा बढी आम्दानी निकाल्न पुष्कर भण्डारी रात दिन मिहिनेत गरिरहनु भएको छ । यो दृश्य बैतडी पाटन नगरपालिका–६ पाटनका पुष्कर भण्डारीले गरेको च्याउ खेतीको हो ।

राजनीतिमा समेत सक्रिय ३४ वर्षिय पुष्कर भण्डारी राष्ट्रिय युवा सङ्घ नेपाल बैतडीका जिल्ला कमिटी सदस्य हुनुहुन्छ । राजनीतिलाई विशुद्ध समाज सेवा मान्नुहुने भण्डारी जिवीकोपोर्जनका लागि उद्यमशील बन्नुपर्ने बताउनुहुन्छ । राजनीनिमा लागेर योजना माग्ने, उपभोक्ताको अध्यक्ष बन्ने र त्यसैबाट जिवीका चलाउने प्रवृत्ति बढीरहेका बेला भण्डारीको उद्यमशीलताले धेरैलाई राम्रो पाठ सिकाएको छ ।

एक महिनाअघि मात्र च्याउको वीउ राखेका पाँच सयभन्दा बढी च्याउका पोकाबाट फल्दै गरेको च्याउ देखाउँदै भण्डारीले योजनाको उपभोक्ता बनेर भ्रष्टाचार गरेर होईन, प्लाष्टिकमा पराल पोकोपारेर च्याउँको वीउबाट मनग्गे पैंसा फल्ने बताउनुभयो । बजारमा दुईसयदेखि २५० रुपियाँ किलोसम्म च्याउ बिक्रि हुने गरेकोले अरु युवालाई पनि उद्यमी बन्न पुष्करले सुझाव दिनुभयो ।

युवाहरु स्वदेशमै उद्यमी बन्नु पर्ने बताउँदै भण्डारीले आफ्नै स्वलगानीमा च्याउखेती सुरु गरेको बताउनुभयो । मासिक एक लाख रुपियाँ जति च्याउखेतीबाट कमाई हुन्छ भने किन उद्यम नगर्ने ? भनेर आफू च्याउखेतीमा लागेको भण्डारीले बताउनुभयो । च्याउखेतीबाट राम्रो प्रेरणा मिलेपछि अब गाई पालनका लागि गोठ तयार भईरहेको भण्डारीले बताउनुभयो । नयाँ वर्षमा पाँच वटा उन्नत गाई किनेर पाटनमा व्यवसायिक गाईपालन गर्ने पुष्करले योजना सुनाउनुभयो ।

भण्डारीले भन्नुभयो, बढी जसो समय उद्यमशीलता मै बित्ने गर्छ । बचेको समय संगठन र समाजमा सबैलाई सकेको सहयोग गर्छु । राजनीतिमा लाग्दा कसैसँग चन्दा माग्नु परेको छैन । योजना मागेर भ्रष्टाचार पनि गर्नु परेको छैन । घर परिवार सबै यसैमा खुशी छौं । घर परिवार, समाज र देशका सबै ठाउँमा यस्तो खुशी आउन थाले देश आफैं सम्बृद्ध बन्ने छ ।

तपाईको प्रतिक्रिया