टीकापुरलाई नियाल्न भ्यूटावरसहितको घण्टाघर तयार हुँदै

  चैत ०४, २०७६

लम्की, चैत ४ : कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ । निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ ।

घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको छ । योसँगै प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण भइरहेका रोयल प्रशंसा जेभीका प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।

अठार महिनाभित्र काम सक्ने गरी विसं २०७५ फागुन १९ गते सो ठेक्का सम्झौता भइ काम शुरु भएको थियो । २०७७ भदौ २५ भित्र सक्ने गरी काम भइरहेको उनले बताए । ‘कैलालीमा यस वर्ष हिउँदमा पानी परेका कारण इँटाको समस्या छ । समयमै इँटा नपाएका कारण काममा केही ढिलाइ भयो, तर हामी समयमै सक्ने गरी काम गरिरहेका छौँ’, प्रमुख जोशीले भने ।

भ्यूटावरसहितको घण्टाघरले टीकापुरलाई नियाल्न सजिलो हुने स्थानीय बलबहादुर विष्ट बताउनुहुन्छ । ‘घण्टाघर निर्माणपछि यहाँ पर्यटकीय गतिविधि बढ्नेछन्, यस्ता ठूला संरचना बनेमा टीकापुरको विकाससँगसँगै पर्यटक भित्रिने आधार बन्छ ।’

यहाँ छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र व्यवस्थित बसपार्क निर्माण भइरहेका छन् । ‘भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्छ’, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्नुहुन्छ, ‘यसका लागि त्यसमा प्रयोग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ । सहज वातारणमा संरचना निर्माणका लागि सहयोग गरेका छौँ ।’

तपाईको प्रतिक्रिया