बाहिरी चक्रपथ आयोजना, चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी

  चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ ।

काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्नका लागि सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तयारी गरिरहेको लगानी बोर्डको कार्यालयले जनाएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि लगानी बोर्डको कार्यालय क्रियाशील रहेको बताउँदै सो चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल, आरएफपी) माग्नका लागि तयारी सुरु भइसकेको जानकारी दिनुभयो ।

बाहिरी चक्रपथ निर्माण गर्न चीनका चारवटा कम्पनीले आशयपत्र दिएकोमा लगानी बोर्डले तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सङ्क्षिप्त सूचीमा सूचीकृत भएको हो । ‘अहिले काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट सो आयोजना निर्माणसम्बन्धी आवश्यक विवरणहरू सङ्कलन भइरहेका छन्, यसअघि सङ्क्षिप्त सूचीमा समेत सूचीकृत भइसकेका ती चिनियाँ कम्पनीलाई ‘अवार्ड’ गर्नका लागि उसको प्रस्ताव माग्नुपर्छ, माग्नुपर्ने प्रस्तावको लगानी बोर्डले मस्यौदा तयार गरिसकेको छ,’ उहाँले भन्नुभयो, ‘‘प्रस्तावमा समेट्नुपर्ने विषयवस्तु प्राधिकरणले तयार गरिरहेको छ ।’

आयोजनासम्बन्धी विवरणहरू सङ्कलन गर्न लगानी बोर्डले उपत्यका विकास प्राधिकरणलाई आवश्यक जनशक्ति उपलब्ध गराउन प्रस्ताव गरिसकेको बताउँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले भन्नुभयो, ‘‘आयोजनासम्बन्धी सम्पूर्ण विवरण तयार भइसकेपछि बोर्डले सङ्क्षिप्त सूचीमा सूचीकृत भएको कम्पनीको नाममा ‘आरएफपी’ जारी गर्ने छ ।’

प्रस्ताव आह्वानको कागजपत्र तयार गरी ६० दिनभित्र हामीले आह्वान गर्छौं र आह्वान गरिएको ४५ दिनभित्र चिनियाँ कम्पनीले प्रस्ताव बुझाइसक्नुपर्ने उहाँले बताउनुभयो । निर्माण कम्पनीले प्रस्तुत गरेको प्रस्ताव आर्थिक र प्राविधिक मूल्याङ्कनमा सरकारलाई स्वीकार्य भएको अवस्थामा निर्माणको जिम्मा उसैलाई दिइने उहाँले बताउनुभयो । चालू आर्थिक वर्षभित्र निर्माण कम्पनीसँग प्रस्ताव माग्ने काम सम्पन्न हुने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

बाहिरी चक्रपथ निर्माणको विषयमा नै बिहीबार उपत्यका विकास प्राधिकरण र लगानी बोर्डको संयुक्त बैठक बसेको थियो । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र प्राधिकरणको सहकार्यमा बाहिरी चक्रपथ निर्माणसम्बन्धी विवरणहरू सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

अबको दुई हप्ताभित्र उक्त आयोजनासम्बन्धी विवरणहरू सङ्कलन गरी प्रतिवेदन तयार गरिने जानकारी उहाँले दिनुभयो । प्रतिवेदन तयार भइसकेपछि प्राधिकरण र लगानी बोर्डको संयुक्त बैठकले निर्माण कम्पनीसँग प्रस्ताव मागसम्बन्धी निर्णय गर्ने जानकारी समेत उहाँले दिनुभयो ।

बाहिरी चक्रपथ निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीले बाहिरी चक्रपथ निर्माणका लागि सङ्क्षिप्त सूचीमा सूचीकृत भएका निर्माण कम्पनीसँग प्रस्ताव गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणले अहिले आयोजनासम्बन्धी विवरण सङ्कलन तथा ‘टीओआर’ तयार गरिरहेको जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकालाई यो आयोजनामार्फत् जोड्दै व्यवस्थित सहरीकरण गर्ने बृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माण गर्ने प्रस्ताव अघि सारेको हो । कुल ७१.९३ किलोमिटर प्रस्ताव गरिएको बाहिरी चक्रपथको कुल लम्बाइमध्ये काठमाडौँमा ३५.८ किलोमिटर, ललितपुरमा १५.८० र भक्तपुरमा २१.५ किलोमिटर पर्छ ।

लगानी बोर्डका अनुसार सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण गरिने यस चक्रपथ आठ लेनको हुने छ । मूल सडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा आपाङ्गमैत्री पेटीको समेत व्यवस्था हुने गरी चक्रपथ बनाइने २०७४ सालमा बनेको डीपीआरमा उल्लेख छ ।

सो चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६÷५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो भने आर्थिक वर्ष २०६१÷६२ को बजेट वक्तव्यमा “व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१-६२ देखि नै प्रारम्भ गरिने छ” भनी बजेट भाषणमार्फत घोषणा भएपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो । यसअघि उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।

‘नयाँ डीपीआर बनाउनुपर्छ’
बसन्तकुमार नेम्वाङ, सहरी विकासमन्त्री
लगानी सम्मेलनमा चिनियाँ निर्माण कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्छु भन्दै प्रस्ताव हालेको रहेछ । उक्त बाहिरी चक्रपथ निर्माणको सम्बन्धमा अहिले लगानी बोर्डमा छलफल भइरहेको छ । मैले बुझ्दाखेरी बाहिरी चक्रपथ निर्माणका लागि यसअघि तयार पारिएको ‘डीपीआर’ अधुरो रहेछ, पूर्ण छैन त्यसलाई पूर्ण बनाउनुप¥योे ।

बाहिरी चक्रपथको नयाँ ‘एलाइन्मेन्ट’ निर्धारण गरेर अध्ययन गर्नू भनेर मैले लगानी बोर्डको ब्रिफिङमा भनिसकेको छु । बाहिरी चक्रपथ निर्माणका लागि यसअघि निर्धारण गरिएको ‘एलाइन्मेन्ट’को कतिपय ठाउँमा नयाँ बस्ती बसिसकेको अवस्था लगायतका विभिन्न खाले समस्या छन् ।

कतिपय ठाउँमा सहर बसिसक्यो । चक्रपथको ‘एलाइन्मेन्ट’ यो यो हो भनेर एउटा नयाँ रिपोर्ट बनाउनु आवश्यक छ । भोलि कुनै लगानीकर्ताले बाहिरी चक्रपथको ‘एलाइन्मेन्ट’ कुन हो, ठाउँ कुन हो, त्यो त माग्ने बित्तिकै दिनुप¥यो । यो आर्थिक वर्षभित्र यी काम पूरा गर्न मैले भनिसकेको छु । यदि पहिलेकै ‘डीपीआर’ पूरा छ भने त्यसलाई नै ठीक भन्नुप¥यो । बाहिरी चक्रपथ बनाउने ठाउँ यो यो हो भनेर यकिनका साथ भन्न सक्नुप¥यो ।

निर्माणका लागि चिनियाँ कम्पनीले इच्छा देखाए पनि ती कम्पनीले कहाँ काम गर्ने हो, कुन ‘एलाइन्मेन्ट’ मा काम गर्ने हो, कसरी अगाडि बढ्ने हो लगायतका विषयमा पहिला नै प्रस्ट हुनुप¥यो । चिनियाँ वा जुनसुकै कम्पनीले निर्माण गरे पनि उसलाई बनाउने ठाउँ त दिनुप¥यो नि । त्यो ठाउँ कहाँ छ, पहिला तय हुनुप¥यो ।

तपाईको प्रतिक्रिया