‘सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी’

  चैत ०१, २०७६

तम्घास, चैत १ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या समाधानका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ । उहाँले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताउनुभएको हो ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ कार्यक्रममा उहाँले भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराउनुभयो ।

“धेरै व्यक्तिबाट विभिन्न प्रकारका कुरा आइरहेका छन् तर सरकार कति पनि झुकेको छैन”, मन्त्री ज्ञवालीले भन्नुभयो, “वार्ताबाट समस्याको समाधान खोज्दा ढिलाइ भएको हो ।” इतिहासमै पहिलोपटक सरकार निडरताका साथ प्रस्तुत भएकाले भारत पनि सीमा विवाद समाधानमा भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया