सुनसान बन्दै गौतम बुद्ध जन्मस्थल लुम्बिनी

  फागुन ३०, २०७६

भैरहवा, फागुन ३० : विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो ।

केही समय अघिसम्म राम्रै चहलपहल रहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एन्ड रेस्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताउनुभयो ।

केही भारतीय र श्रीलङ्कनहरू फाट्टफुट्ट आएका छन्, उनीहरू पनि एकछिन घुमेर फर्किहाल्छन्, उहाँले भन्नुभयो, ‘दुई–तीन हप्तादेखि अरू विदेशी त देखि नै छाडे ।’ विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी सुनसान भएको हो ।

नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन् । लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “पाहुनाहरू आउनै छोडे, बुकिङ भएका कोठा पनि धमाधम रद्द भएका छन्”–उहाँले भन्नुभयो, “अन्य मुलुकमा फैलिएको कोरोनाको कारण ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।”

चैतसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाइ छ । केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट सङ्क्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरू मुलुकका पर्यटक समेत आउन छोडेको बताउनुभयो ।

चिनियाँ पर्यटक लगभग शून्यमा पुग्न लागे भन्दा पनि हुन्छ, अन्य पर्यटकको सङ्ख्या पनि अत्यन्तै न्युन भएको छ, उहाँले भन्नुभयो । यो समयमा लुम्बिनीमा श्रीलङ्का, म्यानमार र थाइल्यान्डका पर्यटक आउने गर्दथे । एक महिनायता कमी आएको सूचना अधिकारी बस्नेतको भनाइ छ । जनवरीमा अघिल्लो वर्ष र अहिलेको सङ्ख्या बराबर छ, फेब्रुअरीमा कमी आएको छ, उहाँले भन्नुभयो, मार्चमा धेरै नै कमी आउने सङ्केत देखिएको छ ।

प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको थियो भने सङ्घ सरकारको आह्वानमा नेपाल भ्रमण वर्ष २०२० पनि सुरु भएको थियो तर कोरोनाको सम्भावित जोखिमका कारण सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेको छ । एक महिना जति बाँकी रहेको लुम्बिनी भ्रमण वर्षका कार्यक्रम पनि निश्क्रिय भएका छन् ।

कोरोना सङ्क्रमणका कारण विभिन्न मुलुकबीच आवतजावत पनि बन्द भएको छ । पर्यटक नआउँदा व्यवसाय धान्न समस्या भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । कामदारको तलब कसरी दिने, बैङ्कको ब्याज कसरी तिर्ने भन्ने समस्या छ, उहाँले भन्नुभयो । लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन पनि घटेको लुम्बिनी विकास कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया