कास्की ताराको उपाधि ममितालाई

  माघ १९, २०७६

कास्की, १९ माघ : माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (कास्की तारा) को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले जिल्लाको पाँचवटै स्थानीय तहबाट छानिएर आएका प्रतियोगीलाई हराउँदै रु ३० हजार सहित उपाधि जित्नुभएको थियो ।

सूर्यतारा क्लब पोखरा–२७ ले आयोजना गरेको शनिबार सम्पन्न सो प्रतियोगितामा ‘सुखी नेपाली, समृद्ध नेपाल निर्माणका आधार’ विषयक राखिएको थियो । त्यसैगरी अमरसिंह माध्यमिक विद्यालय पोखरा–१२ मा कक्षा १० मा अध्यनरत छात्रा अपेक्षा अधिकारी र गौरीशङ्कर मनिलाल मावि कक्षा १० मा अध्यनरत छात्रा दुर्गा ढुङ्गानाले क्रमशः दोस्रो र तृतीय स्थान हासिल गर्नुभयो ।

गत असोज ५ गतेदेखि शुरु भएको प्रतियोगिता अन्तर्गत स्थानीय तहमा सम्पन्न प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई कास्की तारामा सहभागी गराइएकोे क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिनुभयो । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइराला, रुपा गाउँपालिका अध्यक्ष नवराज ओझालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले सूर्यतारा क्लबले जस्तै सामाजिक सङ्घसंस्थाले सरकारसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया