प्रदेश सभाको बैठक स्थगन

  माघ १७, २०७६

धनगढी, १७ माघ : सुदूरपश्चिम प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

प्रदेशसभा सचिवालयलमा दर्ता भएको ‘एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा संशोधन प्रस्तावका विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको उपस्थितिमा छलफल गर्नुपर्ने देखिएकाले आजको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव मानसिंह धामीले बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह भने सो पार्टीको बैठकमा सहभागी हुन केही दिनदेखि काठमाडौं हुनुहुन्छ ।

प्रदेशसभामा सरकारले टेबुल गरेको एफएम, रेडियो र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य भरतबहादुर खड्काले संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको थियो ।

बिहीबार बसेको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त विधेयकका सन्दर्भमा दर्ता भएको संशोधन प्रस्तावका बारेमा छलफल भएको बताइएको छ । अर्को बैठक यही माघ १९ गते दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया