चुरे पहाडका अधिकांश वनमा डढेलो फैलिँदै

  बैशाख १७, २०८१

गोदावरी (कैलाली), १७ वैशाख : कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ । सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू-बनोट तथा तीव्र गतिमा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ । 

चुरे गाउँपालिका-३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको वासस्थानमा समेत गम्भीर असर परेको बताउनुभयो । वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उहाँको गुनासो छ । 

चुरे-४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो । डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू-बनोटले गर्दा स्थानीय साधन स्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताउनुभयो । गर्मीयाममा जताततै डढेलो फैलिएको र साधन स्रोतको अभावका बिच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुनेहुँदा सो क्षेत्रमा जान समस्या भएको उहाँको भनाइ छ । 

वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुन नसकेको आरोप छ ।  कैलालीमा झण्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका जिल्ला वन कार्यालय कैलालीले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया