अस्ट्रेलियन ओपनमा सेरेना विलियम्स पराजित

  माघ १०, २०७६

मेलबोर्न, १० माघ : अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन् । शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी हुन् ।

३८ वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन ओपनमा सहभागी भएकी थिइन् ।सेरेना विलियम्सले यस पटक अस्ट्रेलियन ओपनको आठौं ताज पहिरिने सम्भावना रहेको अडकलबाजी गरिएका थिए । यी दुई खेलाडीबीच यसअघि एक पटक मात्र प्रतिस्पर्धा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा वाङले सेरेनालाई ६–४, ६–७ (२÷७), ७–५ सेटमा पराजित गरिन् । सेरेनाले यसअघि सन् २०१७ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन् । सन् २०१८ मा बच्चा जन्मिएका कारण उनी खेलमा सहभागी भएकी थिइनन् । विश्व वरियतामा २७औं क्रममा रहेकी वाङले सेरेनालाई पराजित गरेपछि “मेरो टोलीका सदस्यहरुले मैले जित्न सक्छु भनेर निरन्तर हौसला दिएको” प्रतिक्रिया दिइन् । गतवर्ष अमेरिकी ओपनको क्वार्टर फाइनलमा वाङ सेरेना विलियम्ससँग ६–१, ६–० को सोझो सेटमा पराजित भएकी थिइन् ।

चीनको तियानजिनकी २८ वर्षीया वाङले यसपटक अस्ट्रेलियन ओपन जित्ने अडकलबाजी गर्न थालिएको छ । गत वर्ष पनि उनी तेस्रो राउन्डबाट बिदा भएकी थिइन् । महिलातर्फको अर्को प्रतिस्पर्धामा पूर्व विश्व नम्बर १ क्यारोलिन ओज्नीयाकी तल्लो क्रमकी ट्युनिसियाली खेलाडी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ ले पराजित भएकी छिन् । यो पराजयसँगै क्यारोलिनले पनि अन्तर्राष्ट्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया