‘आयोगले निष्पक्ष भएर काम गर्नुपर्छ’

  पुष २९, २०७६

धनगढी, २८ पुस : सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कडा भएर निष्पक्ष रूपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले पछिल्ला समयमा सञ्चार माध्यममा भ्रष्टाचार बढेका खबर प्रकाशन÷प्रशारण भइरहेकाले यो विषयमा आयोग गम्भीर बन्न जरुरी रहेको बताउनुभयो ।

भ्रष्टाचार रोकथामका लागि आवश्यक नीति बनाउनमा पनि आयोगको भूमिका रहेकामा जोड दिनुहुँदै उहाँले भन्नुभयो, “आयोगका कतिपय कर्मचारीको विषयमा पनि कुरा उठ्ने गरेकाले यो विषयमा पनि गम्भीर हुन जरुरी छ ।”

सो अवसरमा आयोगको महेन्द्रनगरस्थित कार्यालयका प्रमुख बाबुराम खतिवडाले आयोगको वार्षिक प्रतिवेदनका बारेमा संक्षिप्त रूपमा जानकारी गराउनुभएको थियो । नेपालको संविधान बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले प्रदेश प्रमुख समक्ष आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।

तपाईको प्रतिक्रिया