रम्भा मावि पहिलो बालमैत्री विद्यालय

  मंसिर ३०, २०७६

बेझाड, ३० मंसिर : रम्भा गाउँपालिका५ को ताहुँमा रहेको रम्भा माध्यमिक विद्यालयलाई पाल्पाको पहिलो बालमैत्री विद्यालय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालमैत्री विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘गाउँपालिकालाई बालबालिकामैत्री बनाउन, विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरूको हकअधिकार प्रदान गर्न विद्यालय बालमैत्री अभियान चलाएको हो ।

सोही अवसरमा जनता प्रावि, चण्डेश्वरी प्रावि, प्राकृतिक आधारभूत विद्यालय, जनजागृति आधारभूत विद्यालयलाई पनि बालमैत्री विद्यालय घोषणा गरिएको थियो । बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमनपश्चात् बालमैत्री विद्यालय घोषणा गरिएको थियो । यसका लागि ५० वटा सूचकमा ८० अङ्क प्राप्त आवश्यकता पर्दछ ।

बालमैत्री विद्यालय स्थापना भएपछि बालबालिकाको अर्थपूर्ण सहभागिता हुने र सहभागिताको लागि सहभागिता नभई वास्तविकरुपमै बालबालिकाको उपस्थिति हुने बालमैत्री स्थानीय शासन समन्वय एकाइका सम्पर्र्क व्यक्ति शिवप्रसाद अर्यालले जानकारी दिए । बालमैत्री घोषणाका लागि १६ विद्यालयले आवश्यक सूचक पूरा गरिसकेको र घोषणा गर्ने तयारीमा रहेको शिक्षा शाखा संयोजक काशीराम बस्यालले जानकारी दिए ।

गाउँपालिकाले विद्यार्थी दुर्घटना बीमा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यस गाउँपालिकाभित्र ३६ वटा सामुदायिक, एक गुरुकुल, पाँच संस्थागत विद्यालय छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा बालकक्षादेखि ५ सम्म पढ्ने विद्यार्थीलाई दैनिक प्रतिविद्यार्थी १५ दिवा खाजाका लागि सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया