भक्तपुर, वैशाख २ : कोरोना भाइरसको महामारीपछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसायले नयाँ वर्षमा ठूलो राहत पाएको छ । नेपाली नयाँ वर्षको अवसरमा विगत तीन दिनदेखि यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म होटल विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भरिएपछि होटल व्यवसायीमा खुसी छाएको छ ।
कोरोना भाइरसका कारण लकडाउन हुँदा दुई वर्ष बन्द भएर नोक्सान भएको पर्यटन व्यवसाय लयमा फर्कन थालेपछि र आन्तरिक पर्यटककै भरमा पनि होटल भरिन थालेपछि व्यवसायमा राहत मिलेको हो । यस वर्षको नयाँ वर्षमा यहाँका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म शतप्रतिशत होटल विगत तीन दिनदेखि आन्तरिक पर्यटकले भरिएका छन् ।
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनुभयो । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्ने राति बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उहाँले बताउनुभयो । चैत मसान्तदेखि वैशाख १ गतेसम्म राति बसेर आज फर्कने पर्यटक धेरै रहेको उहाँको भनाइ छ । उहाँका अनुसार दुई साता अगाडिदेखि नै होटल बुक भएका थिए ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौँ उपत्यका र भक्तपुर मात्र होइन, विभिन्न हिमशृङ्खलासमेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसँगै कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े गौरीशङ्कर, धवलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठ हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनुभयो ।
सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले रानीकोट जान सहज पक्की सडक बनाएपछि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । उहाँले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउँदै रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताउनुभयो । होटल व्यवसायी बकेँ भन्नुहुन्छ, “रानीकोट ऐतिहासिकरूपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न