गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोधै अवरोध

  चैत २९, २०७८

काठमाडौँ, चैत २९ : प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन गज्र्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माणमा अनेकन खालका अवरोधका कारण काम सम्पन्न गर्न समस्या भएको छ ।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शत्प्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा अवरोध गरेका छन् । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध भएको नेपाल प्राधिकरणले जनाएको छ । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग राख्दै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । कानुनी व्यवस्थाअनुसार प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ ।

रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भइ दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेशनमा टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ । प्रसारण लाइनमा पर्ने १०५ वटा टावरमध्ये सबैको जग हालिएको छ । एक सय एक टावर खडा गरिएको छ भने २० किलोमिटर तार टाँगिएको छ । गज्र्याङमा १३२÷३३÷११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन तथा सवस्टेशनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ ।

पूर्वाधार तयार नहुँदा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाट जडित क्षमताको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइनमा जोड्न सकिएको छैन । आयोजना व्यवस्थापनले निरन्तर पहल र प्रयास गरे पनि अवरोध हट्न नसक्दा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेको हो । प्रसारण लाइन अभावमा विद्युत् खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले पहल सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया