पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

  चैत २८, २०७८

इस्लामावाद, चैत २८ : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी ( पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन ।

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् ।

जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताउनु भएको हो ।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उहाँको भनाई छ । उहाँले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गर्नु भएको छ ।

आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक सङ्कटमा पर्नु भएका नेता खानले विघटन गरेको संसद्‌मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ ।

उहाँको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया