श्रममन्त्रीको तलब खेलमैदान विस्तारका लागि सहयोग

  चैत २६, २०७८

दमौली, चैत २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको भानु नगरपालिका–१२ घलेछापमा खेलमैदान विस्तारका लागि रु ५० हजार सहयोग गर्नुभएको छ । घलेछाप युवा क्लबले निर्माण गरेको खेलमैदान विस्तारका लागि मन्त्री श्रेष्ठले रु ५० हजार सहयोग गर्नुभएको हो ।

उक्त रकम मन्त्री श्रेष्ठका प्रमुख स्वकीयसचिव जगत् खड्काले क्लबका सचिव कुशल अधिकारीलाई हस्तान्तरण गर्नुभयो । क्लबका सचिव अधिकारीले मन्त्री श्रेष्ठको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त रकमले खेलमैदान विस्तारका लागि सहयोग पुग्ने बताउनुभयो । गाउँमा खेलमैदान निर्माण गरी खेलाडी उत्पादन गर्न खेलकुदका गतिविधि सञ्चालन गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले पाउने तलबभत्ता जिल्लाका विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्दै गर्दा श्रेष्ठले आफूले तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो । त्यसयता श्रेष्ठले तलबवापतको रकम विभिन्न विद्यालय, सङ्घसंस्था, आमा समूह, खानेपानी योजना, बिरामीलगायतलाई सहयोग गरेको स्वकीयसचिव खड्काले बताउनुभयो ।

मत विश्लेषणमा जुट्यो एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) तनहुँले जिल्लामा मत विश्लेषणको कार्य सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत समाजवादीले यथार्थ मत विश्लेषण थालेको हो ।

निर्वाचनको तयारीका लागि दशवटै पालिकाको यथार्थ मत विश्लेषण कार्य थालिएको पार्टीका सचिव श्रीराम कार्कीले जानकारी दिनुभयो । सो पार्टीले सत्तारुढ दलबीच गठबन्धन गरेर निर्वाचन जाने सहमतिलाई दिगो र भरपर्दो बनाउनेबारेमा समेत छलफल थालेको छ ।

सो पार्टीले निर्वाचनलाई लक्षित गरी अध्यक्ष शङ्करनारायण श्रेष्ठको अध्यक्षतामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नजिकिँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी विभिन्न पार्टीबाट प्रवेश, प्रचार–प्रसारलगायतका कामहरू भइरहेको कार्कीले जानकारी दिनुभयो । जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन परिचालन कमिटी गठनको काम भइरहेको उहाँले बताउनुभयो ।

उक्त पार्टीका अनुसार व्यास नगरपालिकामा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । त्यस्तै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा पनि परिचालन कमिटी गठन गरिसकिएको र अन्य पालिकामा बैठक बसेर तयारी थालिएको छ । एकीकृत समाजवादीले विभिन्न वडामा पनि सङ्गठन निर्माणको कामलाई तीव्रता दिएको छ ।

तपाईको प्रतिक्रिया