भूस्खलन रोक्न चुरे र खहरेमा तटबन्ध निर्माण

  चैत २५, २०७८

ढल्केबर, चैत २५ : राष्ट्रपति चुरे तराई/मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ जनकपुरले चुरेको नदीजन्य पदार्थलाई चुरेमै रोक्न बाँध (चेक ड्याम) निर्माणमा तीव्रता दिएको छ ।

जनकपुर एकाइले माटो, बालुवा तथा गेगरलाई चुरेमै रोक्न आफ्नो कार्य क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लाको चुरे क्षेत्रमा पर्ने खहरे खोलामा बाँध निर्माण कार्यलाई तीव्रता दिएको हो ।

कार्यालयले चालू आर्थिक वर्षमा चुरे क्षेत्रको ४४ ठाउँको खहरेमा बाँध निर्माण गर्ने लक्ष्य लिएको छ । जसमध्ये २० स्थानमा बाँध निर्माणको कार्य सम्पन्न भइसकेको छ भने बाँकी २४ स्थानमा बाँध निर्माणको काम धमाधम भइरहेको राष्ट्रपति चुरे तराई/मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाई जनकपुरधामका प्रमुख रामबालक यादवले बताउनुभयो ।

चुरे क्षेत्रको माटो, बालुवा तथा गेगरलाई चुरे क्षेत्रमै रोक्न चुरेका खहरे तथा खोल्सीमा साना–ठूला बाँध निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

इकाई कार्यालयले गत आर्थिक वर्षमा ४० स्थानमा बाँध निर्माण गरेको थियो । यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा पनि चुरे क्षेत्रको ४५ ठाउँको खहरे खोलामा बाँध निर्माण कार्य सम्पन्न गरेको छ ।

बाँध निर्माणले चुरेको माटो चुरेमा राख्नुका साथै चुरे क्षेत्रमाथि भइरहेको अत्याधिक भूस्खलनलाई पनि नियन्त्रण गर्न सहयोग पुगेको छ । यस्ता बाँध चुरेको माथिल्लो क्षेत्रका खोल्सी तथा खहरेमा बढीभन्दा बढी बाँध निर्माण गर्न जरुरी रहेको पनि एकाइ प्रमुख यादवले भन्नुभयो ।

खोल्सीमा बनाइएका बाँधले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव रोक्ने, माटो र बालुवालगायतका नदीजन्य पदार्थलाई चुरेमै राख्न मद्दत पुगेको छ । अहिले बाँधका कारण चुरेबाट हुने क्षति न्यून भएको उहाँले जानकारी दिनुभयो ।

बाँध निर्माण गरिएको स्थान तथा छेउमा बाँसको बिरुवालगायत विभिन्न प्रजातिको वृक्षरोपण गरिएको छ । खहरेको छेउमा यसरी बिरुवा रोप्दा खहरे फैलिन नपाउने र क्षति कम हुने जनकपुर इकाईका अधिकृत इन्जिनियर देवपुजन यादवले जानकारी दिनुभयो ।

प्रथम राष्ट्रपति डा. रामवरण यादवको सक्रियताका कारण सात वर्षअघि सरकारले गुरुयोजना नै बनाएर राष्ट्रिय गौरवको आयोजनाको रुपमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको छ ।

राज्यको लगानीमा चुरेका खहरे तथा पहिरो नियन्त्रण गर्न साना बाँध र तटबन्ध निर्माण गरिएको छ । गाउँबस्तीबाट टाढा चुरे जङ्गलमै राज्यको लगानीमा साना बाँध तथा तटबन्ध निर्माण गर्दा खहरे फैलिन नपाउने र क्षति कम हुने प्राविधिकहरूको विश्वास छ ।

एकाइ कार्यालयले चुरे जोगाउन बाँध निर्माण, वृक्षरोपण र जल–पुनःभरणका लागि चुरे क्षेत्रमा सरोवर निर्माणलगायत महत्वपूर्ण कार्य गर्दै आएको छ । समितिले चुरेमै केन्द्रित गरेको कामको नतिजा भने सकारात्मक देखिन थालेको छ ।

तपाईको प्रतिक्रिया