तनहुँमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्यो

  चैत २५, २०७८

दमौली,चैत २५ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा चुनावी सरगर्मी बढेको छ ।निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले उम्मेदवार सिफारिसको कामलाई अगाडि बढाएपछि चुनावी सरगर्मी ह्वात्तै बढेको हो । मुख्य तीन ठूला राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको कामलाई अगाडि बढाएका छन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) उम्मेदवार छनोटमा लागिपरेको छ । नेकपा एमाले तनहुँले चैत ३० गतेभित्रै स्थानीय तहका उम्मेदवारको सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटी र पालिका कमिटीबाट सिफारिस भई आउने उम्मेदवारको नामावली चैत ३० गतेभित्र प्रदेश कमिटीलाई सिफारिस गरिने एमाले तनहुँका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले जानकारी दिनुभयो ।

एमालेले वडा कमिटी र स्थानीय पालिका कमिटीलाई भने चैत २५ गतेभित्र उम्मेदवार सिफारिस गरेर जिल्ला कमिटीमा पठाउन निर्देशन दिएको छ । “सम्बन्धित कमिटीबाट सिफारिस भई प्राप्त नाममध्ये जिल्ला कमिटीले थप अध्ययन गरेर चैत ३० गतेभित्र प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्षलाई सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले नै उम्मेदवारको निर्णय गर्ने र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी स्थानीय पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने बताइएको छ । घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट पाँच जना आकाङ्क्षी रहेका छन् । उक्त गाउँपालिकाको अध्यक्षमा एमालेबाट वर्तमान अध्यक्ष रनबहादुर रानासहित गण्डकी प्रदेश कमिटीका सदस्यद्वय विष्णुभक्त सिग्देल र होमबहादुर थापा, गाउँपालिका कमिटीका अध्यक्ष विष्णुप्रसाद ढकाल र जिल्ला कमिटी सदस्य इन्द्र थापा आकाङ्क्षी रहनुभएको छ ।

भानु नगरपालिकाका प्रमुख पदमा नेकपा एमालेबाट सात जना आकाङ्क्षी देखिएका छन् । प्रमुखको आकाङ्क्षीमा सुनिल पाण्डे, सीताराम बजगार्इं, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शङ्कर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहनुभएको छ । त्यस्तै प्रमुखमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गीता अधिकारी आकाङ्क्षी हुनुहुन्छ ।

नेपाली कांग्रेसले तनहुँका सबै पालिकाबाट आकाङ्क्षीको नामावली सङ्कलन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका साथै वडाध्यक्ष र वडा सदस्यका आकाङ्क्षीको नामावली सङ्कलन गरिएको कांग्रेस तनहुँले जनाएको छ । कांग्रेसका सबै पालिकास्तरीय समितिले आकाङ्क्षीको नाम सङ्कलन गरेका छन् । त्यसका लागि आफूले चाहेको पदमा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी दर्ताका लागि शुल्क पनि तोकिएको छ ।

व्यास नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसभित्र १५ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । वर्तमान प्रमुख वैकुण्ठ न्यौपानेदेखि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसम्मले प्रमुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्वसचिव विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शङ्कर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ र दीपकराज जोशीले प्रमुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी उपप्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । हालका उपप्रमुख मिरा जोशीसहित नारायणी अधिकारी, कल्पना पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी र वीणा कैनीको उम्मेदवारी परेको छ ।

त्यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट सात जनाले दाबी गरेका छन् । कांग्रेस म्याग्देका सचिव गौरवराज रानाका अनुसार अध्यक्षका लागि वर्तमान अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, रामकृष्ण विक, रामभक्त घिमिरे, जीतराज राना, पवित्रा घिमिरे र हुतमणि अधिकारीले आकाङ्क्षा व्यक्त गर्नुभएको छ । यसैगरी उपाध्यक्ष पदका लागि लक्ष्मी वाग्ले, कुमारी राना, जानकी थापा र शुभद्रा घिमिरेले आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

शुक्लागण्डकी नगरपालिकाको प्रमुखका लागि कांग्रेसबाट १० जनाले आकाङ्क्षा व्यक्त गरेका छन् । हालका प्रमुख किसान गुरुङसँगै व्यवसायी कृष्णराज पण्डित, प्राध्यापक डा कृष्णप्रसाद गौतम, महेश्वर भट्टराई, भक्तबहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, श्रीराम सुवेदी, हरि वाग्ले र माधव भट्टराईले प्रमुखको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उपप्रमुखमा तारा अधिकारी, चन्द्रकला भट्टराई, टीकामाया पौडेल, पम्फा थापा, प्रकाश विक, कृष्णप्रसाद रेग्मी, रेशमलाल पौडेल र बीना खनालले उम्मेदवारी दर्ता गराएको कांग्रेस शुक्लागण्डकीका सहसचिव भीष्म श्रेष्ठले जानकारी दिनुभयो ।

भानु नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसका १५ जनाले आकाङ्क्षा देखाएका छन् । हालका प्रमुख उदयराज गौलीले पुनःप्रमुखका लागि इच्छा देखाउनुभएको छैन । उपप्रमुख आशा थापाले प्रमुखका लागि इच्छा व्यक्त गर्नुभएको छ । क्षेत्रीय सभापति श्याम मौराती, पूर्वसचिव लक्ष्मी आचार्य, चिनु पोख्रेल, आनन्दराज त्रिपाठी, टेकबहादुर गुरुङ, राजन श्रेष्ठ, विश्वेश्वर खनाल, विपिन्द्र अधिकारी, कमल पण्डित, सहदेव अधिकारी, गोविन्दराज सिलवाल, उत्तमप्रसाद लोहनी, छत्रराज भण्डारी र अर्जुन अधिकारीले प्रमुख दाबी गर्नुभएको छ ।

उपमेयरका लागि रामकुमार श्रेष्ठ, उर्मिला पन्त केसी, विष्णु भण्डारी, दुर्गा भण्डारी, सविता उप्रेती र सङ्गीता जिसीले दाबी गर्नुभएको छ । भिमाद नगरपालिकाको प्रमुखका लागि कांग्रेसभित्र सात जना आकाङ्क्षी देखिनुभएको छ । प्रमुखका लागि नगर सभापतिदेखि क्षेत्रीय सभापतिसम्मले इच्छा व्यक्त गर्नुभएको छ । भिमाद नगरसभापति अरविन श्रेष्ठ, क्षेत्रीय सभापति चूडामणि खनाल, जिल्ला सहसचिव मिलन आले, इन्दिरा खनाल, गोपालप्रसाद पराजुली, श्यामसुन्दर जोशी र रामकृष्ण रानाले इच्छा प्रस्तुत गर्नुभएको छ ।

उपप्रमुखका लागि आठ जनाको दाबीच छ । उपप्रमुखका लागि रेशम गैह्रे, इन्द्रकुमारी सिग्देल, याममाया थापा, टुकामणि सिग्देल, निरञ्जना खनाल, रोमाया थापा, केवलसिं ठकुरी र देवी सुवेदीको दाबी छ । कांग्रेस भिमाद सभापति अरविन श्रेष्ठले प्रमुख÷उपप्रखुका आकाङ्क्षीबीच छलफल जारी रहेको बताउनुभयो । भिमाद निवासी कांग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले भने प्रमुखका लागि दाबी गर्नुभएको छैन । कांग्रेसका अन्य तहका सबै सभापतिले प्रमुख÷अध्यक्षमा दाबी गरिरहँदा उहाँले भने प्रमुखका लागि दाबी नगर्नुभएको हो ।

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि १३ जनाले इच्छा व्यक्त गरेका छन् । कांग्रेसको राम्रो पकड रहेको यो पालिकामा अध्यक्ष बन्नका लागि १३ जनाले दावा गरेका हुन् । अध्यक्षका लागि संविधानसभा सदस्य झुलबहादुर आलेले पनि इच्छा व्यक्त गर्नुभएको छ । यस्तै हालका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ पनि पुनःदोहोरिन चाहनुभएको छ । तरुण नेता जीवनचन्द ठकुरीले पनि अब युवाले नेतृत्व पाउनुपर्ने भन्दै अध्यक्षका लागि इच्छा व्यक्त गर्नुभएको छ ।

यस्तै मोहन गिरी, पर्शुराम गिरी, इन्द्र आले, तिलबहादुर थापा, दुर्गाबहादुर राना, श्रीराम आले, लालबहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी र अशोक गिरीले पनि अध्यक्षको चाहना गर्नुभएको छ । उपाध्यक्षका लागि हालकी उपाध्यक्ष गिनुमाया थापा, सविना राना, पार्वती गिरी, लक्ष्मी मल्ल र इन्द्र आलेले चाहना राखेका राख्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले पनि स्थानीय तह निर्वाचनको तयारी थालेको छ । माओवादी केन्द्र व्यास नगरसमितिले एक हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवार छनोटका लागि चैत ३० गतेभित्र सम्बन्धित वडाबाट तीन÷तीन जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गर्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया