एमालेको केन्द्रीय कमिटी बैठकमा चुनावी घोषणापत्र जारी गरिने

  चैत ०८, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सोमबारको पोलिट्ब्यूरो बैठक स्थानीय तहको निर्वाचन केन्द्रीत छलफल गरेकाे छ । चैत ९ र १० गते बस्न लागेको एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा अनुमोदनका लागि बसेको आजको बैठकले केन्द्रीय कमिटीमा घोषणापत्र जारी गर्ने र सोही दिन नै सात सय ५३ पालिकामा सो उपलब्ध गराउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

‘केन्द्रीय कमिटीमा भूगोलका पार्टी अध्यक्षले लिखितरुपमा रिपोर्ट पेश गर्नुहुनेछ, आयोग, केन्द्रीय निकाय र विभागको कामको रिपोर्ट महासचिवले प्रस्तुत गर्नुहुन्छ । पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।’, उहाँले भन्नुभयो । बैठकबाट ११ वटा एजेण्डा पास गरिएको छ ।

बैठकले निर्वाचनमा उम्मेदवारको ६ मापदण्ड पनि तय गरेको छ । ‘स्थानीयतहको उम्मेदवारको सिफारिस गर्दा वडा अध्यक्ष वा सदस्यको सिफारिस वडा कमिटीले र निर्णय पालिका कमिटीले गर्नेछ । गाउँपालिका वा नगरपालिका उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र यसको आधारमा प्रदेश कमिटीले निर्णय गर्नेछ । नगरपालिकाको हकमा पनि प्रदेश कमिटीले निर्णय गर्ने उहाँले बताउनुभयो । महानगरपालिकाको मेयर, उपमेयरको सिफारिस प्रदेश कमिटीले गर्ने र यसको निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ ।

जनप्रतिनिधिको कामको मूल्यांकन, उनीहरुके कार्यक्षमता, विकास, सुशासनप्रति उनीहरुको दृष्टिकोण र चुनावमा विजयको सुनिश्चितता अर्को मापदण्ड रहनेछ । पार्टीको आन्दोलनप्रतिको योगदान, निष्ठालगायत संविधानको आधारमा सन्तुलन र समावेशीता उम्मेदवारको मापदण्डहरु तय भएको उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यको भूगोल जहाँ–जहाँ पर्छ उनीहरुले पार्टी र चुनावको नेतृत्व गर्ने पनि उहाँको भनाई छ । बैठकपछि पत्रकारसँग बोल्नुहुदै उहाँले चुनावमा एमाले आफ्नै शक्तिमा विश्वास गर्ने र अरुसँग तालमेल नगर्ने भनाई पनि राख्नुभयो ।

तपाईको प्रतिक्रिया