काठमाडौँ, चैत ७ : माक्र्सवादी लेखक तथा अर्थविद् गोविन्दप्रसाद लोहनीका सम्झनामा कृपा पब्लिकेसन हाउसद्वारा प्रकाशित ‘गोविन्दप्रसाद लोहनी स्मृतिग्रन्थ’ सार्वजनिकीकरण गरिएको छ ।
लोहनीका कनिष्ठ पुत्र कपिल लोहनीको संयोजकत्व र ‘शारदा’ मासिक पत्रिकाका सम्पादक विमल भौकाजीका सम्पादकत्वमा प्रकाशित ८४० पृष्ठको उक्त ग्रन्थमा विभिन्न क्षेत्रका १२३ विद्वत् व्यक्तित्वद्वारा लिखित स्मृति लेख तथा लोहनीका २० उत्कृष्ट लेख, रचना, अन्तर्वार्ता तथा दैनिकी समाविष्ट छन् ।
विसं १९८५ मा जन्मी २०७७ पुस ११ गते निधन हुनुभएका लोहनी नेपालका अग्रणी माक्र्सवादी प्रचारक हुनाका साथै साहित्यमा पनि प्रखर हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकका संस्थापकमध्येका एक उहाँ नेपालमा भारतीय मुद्रालाई विस्थापन गरेर नेपाली रुपियाँको प्रचलन गराउने र भारु १०० को नेरु १६० विनिमय दर कायम भूमिका खेल्नाका साथै भूमिसुधारका निम्ति आवश्यक पूर्वाधार र सोच बनाउने प्रमुख व्यक्ति हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका सदस्य र पाकिस्तानका निम्ति नेपाली राजदूतका रूपमा पनि काम गर्नुभएका उहाँले नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहालीमा ठूलो योगदान गर्नुभएको थियो ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँका केही कृति प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिसकेको र भविष्यमा पनि त्यस्ता कृति प्रकाशन गर्ने सोच राखेको जानकारी दिनुभयो । शनिबार आयोजित कार्यक्रममा कमल कोइराला, हिरण्यलाल श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, डा जयराज आचार्य, डा विश्वम्भर प्याकुर्ययाल, डा खेम कोइराला बन्धु, डा रत्नशमशेर राणा, डा मोहन लोहनी, डा मदनकुमार भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, पदम ठकुराठी, पुष्कर लोहनी, प्रद्युम्नविक्रम शाह, रमा शर्मा, ज्ञानु पाण्डेलगायतले लोहनीका योगदानका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।