गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

  चैत ०५, २०७८

काठमाडौँ, चैत ५ : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ ।

प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले रु ५० हजार राशिको सम्मान बराललाई र रु एक लाख राशिको पुरस्कार गुरुङलाई प्रदान गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व कुलपति काइँलाले विदेशमा रहेर पनि प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सम्मानित व्यक्तित्व बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्नुहुँदै तिनीहरुको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।

पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा देवी नेपालले बाल साहित्यको इतिहास लेखनको काम भइरहेको जानकारी दिनुभयो । साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि कोषको वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रजनी ढकालले सम्मानित व्यक्तित्व बराल र सम्मानित व्यक्तित्व गुरुङको योगदानको चर्चा गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा एकल कविता वाचनलगायत साहित्यिक कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष गणेश राईले प्रतिष्ठानले युद्ध साहित्यलाई प्रवद्र्धन गरेर साहित्य सृजना गर्नेलाई प्रोत्साहन गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया