वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगी एमालेमा प्रवेश

  फागुन २८, २०७८

वीरगञ्ज, फागुन २८ : वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेयर सरावगीलाई फूलमाला लगाएर पार्टी प्रवेश गराउनु भएको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा ईन्चार्ज प्रभु हजराले बताउनु भयो । नेशनल मेडिकल कलेजका सञ्चालक जैनुदीन अन्सारीको छोरीको विवाहमा सहभागी हुन् ।

वीरगञ्ज आउनु भएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख विजय कुमार सरावगीसँगै वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी, वडा नम्बर २५ का वडा अध्यक्ष अवध किशोर कुशवाह, माओवादी केन्द्रका नेता बाबुराम कौशिक लगायतलाई फूलमाला पहि-याई टीका लगाएर पार्टीमा स्वागत गर्नु भएको नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष तथा ईन्चाज हजराले जानकारी दिनुभयो ।

जसपाभित्रका केही नेता र कार्यकर्ताहरुले आफूलाई अफ्ठ्यारोमा पारेको भन्दै पार्टीको बैठकहरुमा समेत पार्टी परित्याग गर्ने जनाउँदै आउनु भएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी शनिबार आधिकारिकरुपमा नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।

जसपा त्यागेर सुरुमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने चर्चा चलेपनि नेताहरुसँग कुरा नमिलेपछि उहाँ एमाले प्रवेश गर्नु भएको बताईन्छ । नगरप्रमुख सरावगीले प्रधानमन्त्री शेर बहादुर देउवासँग समेत भेटघाट गरी छलफल गरे पनि जिल्लाका कांग्रेस पार्टीका नेताहरुले साथ नदिएपछि उहाँ ओलीसँग भेटघाट गरेर एमाले प्रवेश गर्नु भएको समाचार श्रोतले जनाएको छ ।

सरावगीलाई पार्टीमा स्वागत गदै पूर्व प्रधानमन्त्री ओलीले नेकपा एमाले मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएर जनताका वास्तविक समस्यालाई समाधान गर्ने पार्टी भएको दाबी समेत गर्नुभयो ।

नेकपा एमाले पार्टी जनताका सस्म्या समाधान गर्ने पार्टी, जनताका दुःख कष्टलाई सम्बोधन गर्ने, तिनीहरुलाई हटाउने पार्टी भएको जिकिर गर्दै उहाँले एमाले कुनै मुद्दा उठाएर, मुद्दा देखाएर मुद्रा कमाउने पार्टी नभएको दाबी गर्नुभयो । प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने समेत उहाँले बताउनुभयो । नगरप्रमुख सरावगीले फागुन ८ गते पुनः केपी ओलीको उपस्थितिमा वीरगञ्जमा ठूलो संख्यामा जसपा लगायतका पार्टी त्यागेर नेताहरुले एमाले प्रवेश गर्ने दाबी गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया