मस्को, फागुन २७ : रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ ।
रूसले भने यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको छ ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो ।
यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताउनुभएको थियो । त्यसलाई रुसले भने अस्वीकार गरेको हो ।
यसैबीच, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाउनुभएको छ । रूसले यूक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाख भन्दा बढी यूक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।






