माओवादीले एमसीसीको विपक्षमा मतदान गर्छ : श्रेष्ठ

  फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा पार्टीको महाधिवेशन र त्यसपछि भएका छलफलको निर्णय स्पष्ट रहेको भन्दै यस्तो बताउनुभएको हो ।

प्रतिनिधिसभामा पेश भइसकेको एमसीसीबारे मतदान हुँदा पार्टीले संसद बैठक बहिष्कार गर्ने र यथास्थितिमा विपक्षमा मतदान गर्ने उहाँले प्रष्ट पार्नुभयो । नेता श्रेष्ठले एमसीसी सम्झौता र यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकुलताका प्रावधानलाई संशोधन नगरी स्वीकार नगर्ने उल्लेख गर्नुभएको छ । पार्टीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहयोग गर्छ भन्ने प्रचार गलत भएको उहाँको दाबी छ ।

‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकुलका प्रावधानलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने । हामी त्यसैमा कायम छौं’, श्रेष्ठले फेसबुकमा लेख्नुभएको छ, ‘संसदमा यो पेश गरिसकिएको सन्दर्भमा हाम्रो पार्टी यसलाई विफल पार्न विपक्षमा मतदान गर्छ । यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक वहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो ।’ एमसीसी पारित गर्न माओवादीले सहयोग गर्छ भन्नु भ्रम भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया