काठमाडौं, फागुन १० : प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग सहयोगका लागि आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको भेटवार्तामा अध्यक्ष ओलीले एमालेले भने आफ्नो पार्टी ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएका कारण आफ्ना माग पूरा नहुन्जेल सहयोग हुन नसक्ने जानकारी गराउनु भएको थियो । भेटमा दुवै पक्षले आ-आफ्नो अडान कायमै रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललले बताउनुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसीमा सत्ता गठबन्धनभित्रै असहयोग भएको बताउनुभएको थियो भने एमाले अध्यक्ष ओलीले १४ जना सांसदको कारबाहीको माग यथावत् रहेको बताउनु भएको रिजालले जानकारी दिनुभयो । एमाले अध्यक्ष ओलीले भने आफूहरु ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहोर्याउनु भएको थियो ।
सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौतालाई यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्न सरकारले सो अवधिभित्र सबै राजनीतिक दलको सहमतिमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदन गर्न सबै दलहरुबीच छलफल अघि बढाएको छ ।
भेटमा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्थ्यो भने एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहनुभएको थियो ।
प्रतिनिधिसभामा यही फागुन ८ गते एमसिसी प्रस्तुत भएपछि सत्तारूढ तथा प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनीभूत छलफल भइरहेको छ ।